काठमाडौं, फागुन १७ । फिल्म युनिट अहिले अभिनेत्रीको खोजीमा रहेको छ। केही अगाडि फाइनल भएकी अभिनेत्री बेनिशा हमालले फिल्म छाडेपछि निर्माण युनिट नयाँ हिरोइनको खोजीमा तिर लागेको हो।
फिल्म छायाँकनमा भएको ढिलाइका कारण बेनिशाले फिल्म छोडेको बताइएको छ। बहुपति प्रथामा बन्न लागेको यो फिल्म लक्ष्मण सुनारले निर्देशन गर्न लागेका हुन्।
निर्माण युनिटले अहिले अडिसन मार्फत् हिरोइन छान्न लागेको हो। हिरोइनका लागि इच्छुकले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाएर अडिसनमा सहभागी जनाउन सक्नेछन्।
इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागि बोलाइने र अडिसनमा सहभागी मध्य उत्कृष्टलाई फिल्मको हिरोइनमा लिने निर्देशक सुनारले बताए।
अडिसन २० देखि २५वर्ष उमेर समुहका युवतीले सहभागीता जनाउन सक्नेछन्। अडिसन आगामी मार्च १२ अर्थात् यही फागुन २९ गते हुनेछ।
जुम्ला, मुगु र डोल्पामा छायांकन हुने फिल्मलाई हरी श्रेष्ठ र शेखर लामाले निर्माण गर्दैछन्।
फिल्म ‘टुल्की’ खिच्नका लागि साउथ फिल्मका चर्चित छायाँकार अरोन अशोक कुमार नेपाल आउनेछन्। उनीसँग कागजी सम्झौता भैसकेको निर्देशक लक्ष्मण सुनारले बताए।


























