काठमाडौं, फागुन १६ । अमेरिकी राजदूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ घर भएर काठमाण्डौको थलीमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो। खडकाले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकी राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाइ विभिन्न व्यक्तिलाई ठगी गरेको पाइएको छ।
पीडितको उजुरीका आधारमा खड्कालाई प्रहरीले पक्राउ गरेको हो। खड्काले अहिलेसम्म १० जनाभन्दा बढी व्यक्तिबाट अमेरिका पठाउने भन्दै ३० हजार रुपैयाँ देखि ४ लाख रुपैयाँ सम्म ठगी गरेको पाइएको छ। पीडितहरुले विभिन्न प्रलोभन देखाएर आफूहरुबाट पटक पटक पैसा लिएको बताएका छन्।
खड्काले सुरुमा फोन गर्ने र अर्कैं व्यक्तिको नाउँ लिँदै नम्बर लिएको बताउने गरेको पीडितहरुले बताएका छन्। काठमाण्डौको बानियाँटारमा बस्दै आएका भिमबहादुर सुनारले खड्का आफ्नो घरमै आएर अमेरिकी राजदूतावासको आईडी कार्ड देखाएर राजदूतावासमा काम गर्ने मारिया भन्ने व्यक्तिको फोटोसमेत देखाएकोले आफूहरुले विश्वास गरेको बताए।
उनले धरानमा रहेका आफ्ना बहिनी ज्वाइँलाई समेत भेटाएको र खड्काले अमेरिका लैजाने भन्दै उनीहरुलाई पनि ठगी गरेको बताए। सुनारले आफूलाई खड्काले महाराजगञ्जको पुलिसबिट अगाडि रहेको कफी हाउसमा बोलाएर कुरा गरेर पैसा लिएको बताए।
खड्काले अमेरिकामा रहेका आफ्ना व्यक्तिसँगको डिपेण्डेन्टमा छिटो काम गरिदिने तथा एचआईभी सम्बन्धी कार्यक्रमका लागि २८ जना नेपाली लैजान सकिने भन्दै आफूहरुलाई प्रलोभनमा पारेको पीडितहरुले बताएका छन्। खड्काले बैंक र आईएमईको माध्यमबाट पैसा लिन नमान्ने गरेकाले नगद नै बुझाएको उनीहरुको भनाइ छ।
खडकाले पटक पटक शङ्का लाग्नेगरी कुरा गरेपछि पीडितहरुले प्रहरीमा उजुरी दिएका हुन्। रकम दिने बेलामा खडकाको फोटो खिचेको आधारमा आफूहरुले प्रहरीमा उजुरी दिएको समेत उनीहरुले बताए।
त्यस्तै अमेरिका पठाउन भन्दै लिएको पासपोर्ट तथा नागरिकताबाट मोबाइल नम्बर निकालेको समेत पीडितहरुले बताएका छन् । प्रहरीले आरोपित खडकालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

























