म्याग्दी, फागुन १४ । म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ। सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन्।
धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ।
गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिए। यसअघि यही फागुन ९ गते हिमपात भएको थियो। सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको छ।
विगतका भन्दा यो वर्ष धेरै पटक लगातार जसो हिउँ परेको छ। हिमपातका कारण विकास निर्माणका योजना कार्यान्वयन प्रभावित भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए।
गुर्जामा यो वर्ष गाउँपालिकाको नौ वटा, सङ्घीय सरकारको एउटा र प्रदेशको एउटा योजना छन्। योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको, सर्वेक्षण र डिजाइन गरिएको तर लगातारको हिउँले काम शुरु गर्न नसकिएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन्।
शुरु गरिएका योजनामा पनि निरन्तर काम हुन नसकेको वडाध्यक्ष छन्त्यालले बताए। करिब साढे दुई सय घरधुरीको बसोबास रहेको गुर्जा गाउँ जाने बाटोमा हिउँ जमेपछि आवतजावत र ढुवानी ठप्प भएको छ।
रघुगङ्गा गाउँपालिकाको बेग–चिमखोला सडकमा हिउँ जमेर यातायातका साधन रोकिएका छन्। अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन नीलगिरि र नीलगिरि क्यासकेड जलविद्युत आयोजना प्रभावित भएका छन्।
मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म म्याग्दीमा सात पटक हिमपात भएको छ। नियमित वर्षा र हिमपातले हिउँदे बालीलाई भने राम्रो गरेको कृषकले बताएका छन्। हिउँ र वर्षाले जमीन चिसो बनाएर सिँचाइ हुने र खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने कृषि प्राविधिकको भनाइ छ। रासस

























