काठमाडौँ, फागुन ५ । अर्थमन्त्री डा. युवराज खतिवडाले पछिल्लो समय ६ प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिको बहस हुनु सकारात्मक भएको बताएका छन्।
ललितपुरको हरिहरभवनस्थित सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नयाँ भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको र बजारमा ६ प्रतिशत भन्दा माथिको बहस हुने गरेको बताए।
उनले राज्यसत्तामा रहदा ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ८ प्रतिशत आर्थिक वृद्धि नहुने भन्दै आलोचना गर्न अगाडि सर्नेगरेको बताए। उनले ३/४ प्रतिशत आर्थिक वृद्धि गर्नेहरु अहिले ६÷७ प्रतिशतको वृद्धिदर हुने र सरकारले लक्ष्य पूरा नहुने भन्दै आलोचना गर्न अग्रसर हुने गरेको बताए।
उनले भने, ‘कसैकसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेर ठूलो बहस चलाइरहनुु भएको छ भन्दाखेरी ६/७ को कुरा गर्नुहुन्छ बहसको स्तर नै अब ५ प्रतिशत भन्दा माथि पुगेको छ। ३/४ प्रतिशतको कुरै गर्न छाड्नुभयो उहाँहरुपनि जबकी उहाँहरु कसै कसै त आफै राज्य सञ्चालनमा हुँदा त्यही चार प्रतिशत पनि नपुगेर त्यही अनुभव बोकेर राज्य सञ्चालनबाट बाहिर जानुभएको छ। समाजले यी कुराको मुल्याङ्कन गर्छ। सरकारले एकपक्षिय ढंले यी कुरा राखिराखेको होइन अंक पनि बोल्छन् अनुभूति पनि बोल्छन् त्यसको प्रभाव पनि बोल्छन् त्यही कुराहरुलाई तपाईहरुले समयसमयमा सार्वजनिक चासोको विषयको रुपमा छलफल चलाउन सक्नुहुन्छ।’
तालिम केन्द्रले अर्थतन्त्रको वास्तविक अवस्थाको विषयमा पनि विज्ञहरुसँग छलफल चलाउनुपर्नेमा जोड दिए।
अर्थमन्त्री खतिवडाले दुई वर्षमा औषतभन्दा माथि उपलब्धि हासिल गर्न सकेको बताए। उनले आर्थिक वृद्धि, सुशासन, भ्रष्टाचार निवारण तथा समाजको रुपमान्तरणमा औषत भन्दा माथिको उपलब्धि भएको बताए।
उनले तालिम केन्द्र एउटा अवसर भएको र यसले अनुसन्धानलाई वृद्धि गरी तालिमको व्यवस्था गर्नुपर्ने बताए। उनले अनुसन्धान र तालिम अभिन्न अंग भएकाले अनुसन्धान विनाको प्रशिक्षण र तालिमको कुनै अर्थ नहुने बताए।






















