फागुन ५ । २० वर्षिय दिवेश पोखरेल ‘अमेरिकन आइडल’मा छनोट भएका छन्। आइतबार ‘एवीसी’बाट प्रशारण भएको यो चर्चित रियालिटी शोको पहिलो एपिसोडबाट नै दिवस छनोट भएका हुन्। ‘आर्थर गन’को नामबाट चिनिएका उनले अंग्रेजी गीत सुनाएका थिए। गितार सहित अडिसनमा पुगेका उनले बब दिलनको ‘गर्ल फ्रम द नर्थ कन्ट्री’बाट आफ्नो अडिसन सुरु गरेका थिए।
उनले निर्णायकहरुलाई ‘सम टोल्ड मि लङ अगो’ पनि सुनाएका थिए। दिवसको प्रस्तुतिपछि निर्णायकहरुले उनको गायकीको खुलेर प्रशंसा गरे। निर्णायकहरुले उनलाई अमेरिकन आइडलको एउटा आशलाग्दो प्रतियोगी भएको प्रतिक्रिया दिए। निर्णायकहरुले उनलाई ‘हामीले भन्न खोजेको स्टोरी नै तिमी हौँ’ भनेका थिए।

यस्तो प्रतिक्रियाबाट दिवस खुशी भएका थिए। दिवेशले स्टेजमा पुगेर बोलेको ‘नमस्ते’ शब्दले नेपालको परिचय दिए। उनले नेपाल निकै सुन्दर र शान्त देश भएको पनि बताएका थिए। दिवसको परिचयको लागि यो भागमा नेपालका केही सुन्दर दृष्यहरु पनि देखाइएको थियो। काठमाण्डौंमा जन्मिएका दिवेश उच्च शिक्षाको लागि ६ वर्ष अघि अमेरिका पुगेका थिए।
दिवेशले आफ्नो जन्म नेपालको काठमाडौंमा भएको बताएका छन्। उनको परिचयसहितको छोटो भिडियोमा समेत नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको दृश्य देखाइएको छ। दिवेशको उक्त भिडियो युट्युब च्यानलबाट सार्वजनिक भएपछि नेपालमा दिवेशको चर्चा चुलिएको छ।


























