फागुन ३ । नोवेल कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने प्रयासमा रहेको चीनले राजधानी बेइजिङ्गमा जो कोही पनि अनिवार्य रुपमा १४ दिन स्वास्थ्य निगरानीमा बस्नु पर्ने नियम लागु गरेको छ।
बिदा मनाएर बेइजिङ्ग फर्किने हरेक व्यक्ति स्वतस्फूर्त रुपमा आफ्नै घर वा सरकारले बनाएका सेन्टरहरुमा १४ दिनसम्म निगरानीमा बस्नु पर्ने नियम लागु भएको चीनको राष्ट्रिय सञ्चार संस्थाले उल्लेख गरेको छ। यो नियम नमान्नेलाई कारवाही हुनेछ।
संक्रमण नियन्त्रणका लागि खटिएको बेइजिङ्गको समूहले शुक्रबार सूचना जारी गरेर चन्द्रमास अनुसारको नयाँ वर्षको बिदा मनाउन चीनको अरु क्षेत्रमा गएका बेइजिङ्गका बासिन्दा अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा रहनु पर्ने जनाएको हो। बेइजिङ्गमा दुई करोड भन्दा बढी मानिसको बसोबास छ।
कोभिड–१९ नाम दिइएको कोरोना भाइरसको संक्रमण अफ्रिकामा पनि पुगेको छ। इजिप्टमा एकजनामा संक्रमण पुष्टि भएको हो।
गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानबाट सुरु भएको नोवेल कोरोना भाइरसका कारण हालसम्म १५ सयजना भन्दा बढीको मृत्यु भएको छ। मृत्यु हुनेमा अधिकांश चीनको हुबेइ प्रान्तका छन्।
चीनको राष्ट्रिय स्वास्थ्य संगठनका अनुसार शनिबार थप १४३ जनाको मृत्यु भएको छ। योसँगै नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १५ सय २३ नाघेको हो। यस्तै थप २६ सय ४१ जनामा नोवेल कोरोनाको संक्रमण पुष्टि भएको छ। चीनमा अहिलेसम्म ६६ हजार ४९२ जनामा नोवेल कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
चीन बाहिर २४ देशमा संक्रमण पुष्टि भएको छ, चीन बाहिर पाँच सयजना भन्दा बढीमा संक्रमण देखिएको छ। हङकङ, फिलिपिन्स र जापानमा एक–एकजनाको मृत्यु भएको छ।
१७ सय भन्दा बढी स्वास्थ्यकर्मीमा पनि नोवेल कोरोना भाइरसको संक्रमण भएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले यस सम्बन्धमा अध्ययन गरिरहेको छ। सो टिममा १२ जना चिनियाँ तथा १२ जना अन्तर्राष्ट्रिय विज्ञ छन्।


























