काठमाडौं, फागुन २ । सहिद स्मारक ए डिभिजन लिग भोलि (शनिबार) सकिँदैछ। उपाधिका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब शनिबार खेल्दैछन्। त्यसअघि आज १३औं चरणको ३ खेल हुनेछ। साविक विजेता मनाङ मर्स्याङ्दी क्लब उपाधि होडबाट बाहिरिसकेको छ। १२ खेलबाट २५ अंकसहित मनाङ तेस्रो स्थानमा छ। मनाङलाई पछ्याइरहेको ललितपुरको थ्री स्टार क्लब २३ अंकसहित चौथो स्थानमा छ। यी दुई क्लबबीद्बको खेल त बाँकी छैन तर दुवै टिम तेस्रो हुने होडमा छन्।
मनाङले ललितपुरकै अर्को क्लब जावलाखेल युथसँग खेल्नेछ भने ललितपुरे डर्बीमा थ्री स्टारले च्यासल युथ क्लबसँग खेल्नेछ। थ्री स्टार च्यासल बीचको खेल सवा १२ बजे हुनेछ। उक्त खेलमा थ्री स्टार पराजित भए वा बराबरीमा रोकिए मनाङले जावलाखेलसँग खेल्नुअघि नै तेस्रो स्थान सुरक्षित गर्नेछ ।
थ्री स्टार विजयी भएका भने मनाङलाई एक अंङ्कले पछि पार्नेछ। यस्तोमा मनाङले जावलाखेलसँग कम्तीमा बराबरीमा रोक्नुपर्नेछ। गोल अन्तरमा मनाङ अगाडि रहेकोले जावलाखेलले हार टारे तेस्रोमै रहनेछ। मनाङ र थ्री स्टारले यस सिजन २–२ को बराबरी खेलेका थिए।


























