काठमाडौं, माघ २६ । पौष शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज विशेष पूजाअर्चना गरी समापन हुँदैछ।
काठमाडौमा अवस्थित शाली नदीमा एक महिनाबाट जारी स्वस्थानी मेला समेत आजै समापन गरिने छ। पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरेका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन्।
पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ।स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम आजबाट सकिने छ।
विधिपूर्वक एक महिने व्रत गरेका नरनारीले माघ शुक्ल पूर्णिमाका दिन व्रतअनुसारको मनोकामना पूर्णहोस् भनी भगवतीलाई अर्घ्य समेत दिइन्छ। रातमा जाग्राम बसी देवीको माहात्म्य सुन्ने-सुनाउने गरिन्छ। यसो गरेमा व्रतालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।
आइतबार मध्याह्नकालपछि विधिपूर्वक पूजा लगाई व्रत समापन गरी रात्रिमा जाग्राम बसेर भोलि सोमबार बिहान फूलपाती नदीमा सेलाएपछि यो वर्षको स्वस्थानी व्रत समापन हुनेछ।


























