दार्चुला, माघ १८ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउपडी भए पनि छाउगोठ नभएको जनाएको छ। गृह मन्त्रालयले छाउगोठ भत्काउन दिएको निर्देशनपश्चात छाउपडी प्रथा उन्मूलन सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि गरेको सर्वेक्षणमा छाउगोठ नभएको जनाएको हो।
छाउगोठ सम्बन्धमा जिल्लाका नौ वटै स्थानीय तहका ६१ वडामा प्रहरीले निरीक्षण गरी छाउगोठ नभएको पाइएको जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ। जिल्लाका सबै २५ प्रहरी युनिटमार्फत छाउगोठको अवस्थाबारे निरीक्षण गरिएको थियो भने स्थानीय तहलाई समेत छाउगोठको अवस्थाबारे पत्राचार गरिएको थियो। जिल्लाभरि कुनै पनि स्थानीय तहमा परम्परागत छाउगोठ नरहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए।
जिल्लामा छाउगोठ नरहेको भए पनि महिनावारी भएका बेला अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै रहेकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। छाउपडी गोठका बारेमा कहीँबाट उजुरी आए अथवा छाउपडीबारे विभेद गरेको पाइएमा छाउपडी उन्मूलन अभियानलाई कडाइका साथ कार्यान्वय गरिने बैठकले निर्णय गरेको छ। बैठकमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, निमित्त जिल्ला न्यायाधिवक्ता गोविन्दबहादुर चन्द र प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीको सहभागिता थियो।
जिल्लामा महिनावारी भएको बेला दूध–दहीसमेत खान नहुने कुप्रथा छ। जिल्लाको लेकम, मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर नगरपालिका क्षेत्रमा छाउपडी कुप्रथा बढी छ। यहाँका किशोरीले पनि महिनावारीका बेला विद्यालय नजाने र मन्दिर प्रवेशसमेत गर्न नहुने अन्धविश्वास छ। महिनावारी भएका बेला चार÷पाँच दिनसम्म कुनै व्यक्तिलाई छुन नहुने र दूध–दही खान नदिने तथा मन्दिर भएर गए देवता रिसाउँछन् भन्ने अवस्था भने विद्यमान रहेको लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण भट्टले बताए। रासस