काठमाण्डौं, माघ १३ । एक दशक अगाडी सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इ सेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ। सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको हो।
मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा ठुलो योगदान दिन सफल भएको छ।
एक दशकको अवधीमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।
हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेका छन्।
दशवर्ष पुरा भइ एघारौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले यो एक दशक निकै उत्साहजनक रहेको र आगामी दिनमा आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जाने बताए।
इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।