काठमाडौं, माघ १० । यस वर्षको शहीद सप्ताह आजबाट सुरु भएको छ। प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी देशभर शहीद सप्ताह मनाइँदै छ। हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ।
तत्कालीन राणा शासनविरुद्ध जनचेतना फैलाउने शुक्रराज शास्त्रीलाई विक्रम संवत १९९७ माघ १० गते आजैका दिन टेकुको पचलीमा रहेको रूखमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो।
यसै दिनको सम्झना गर्दै आज कुपण्डोलस्थित शहिद शुक्रराज शास्त्रीको प्रतिमास्थलमा शहीद स्मारक समितिले कार्यक्रम गरेको छ।
नागरिक समाजका व्यक्तिहरुले शहिद शुक्रराज शास्त्रीको भूमिकाको योगदान गर्दै उनको तस्विरमा माल्यार्पण गरेका थिए।
त्यसैगरी, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए।
माघ १६ गते सबै शहीदप्रति श्रद्धाञ्जली व्यक्त गरी यो दिवस मनाउने गरिन्छ।