काठमाण्डौं – नेपालले भ्रष्टाचार हुने देशहरुको सूचिमा आफ्नो स्थान केही सुधार गरेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले बिहीबार सार्वजनिक गरेको ‘करप्सन परसेप्सन इन्डेक्स’ मा नेपालले सन् २०१९ मा ११ स्थान सुधार गरेको देखिएको छ।
कुल १०० अंक मध्ये ३४ अंक प्राप्त गरेको नेपाल विश्वका १८० देश रहेको सूचिमा सन् २०१९ मा ११३ औँ स्थानमा परेको हो। सन् २०१८ मा नेपाल यो सूचिमा ३१ अंकसहित १२४ औँ स्थानमा थियो।
६ वटा अन्तर्राष्ट्रिय संस्था विश्व बैंक, आइएमएफ, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस परियोजना र भिडिइएमले गरेको अनुसन्धानमा विश्वका १८० देशमा भ्रष्टाचारको अवधारणागत अवस्थालाई बरियताक्रममा पेश गरिएको छ।
विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको छ। उसले ८७ अंक प्राप्त गरेको छ। विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको जारी सूचिमा उल्लेख छ। सोमालियाले मात्रै ९ अंक प्राप्त गरेको छ।
दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो। भुटान ६८ अंक प्राप्त गरी २५ औँ स्थानमा छ। यस्तै भारत र चीन समान ४१ अंक प्राप्त गरी ८० औँ स्थानमा छन्। श्रीलंका ३८ अंक प्राप्त गरी ९३ औँ स्थानमा, माल्दिभ्स २९ अंक प्राप्त गरी १३० औँ स्थानमा र अफगानिस्तान १६ अंक प्राप्त गरी १७३ औँ स्थानमा छ।
ट्रान्सपरेन्सी इन्टरनेल नेपाल च्याप्टरका मुकुन्द प्रधानका अनुसार सन् २०१९ मा विश्वभर भ्रष्टाचार विरोधी अभियानमा शिथिलता आएको छ। पैसाले राजनीतिमा प्रभाव पारेका मुलुकमा भ्रष्टआचार मौलाएको देखिएको उनले बताए। सन् २००४ देखि नेपालमा ट्रान्सपरेन्सीको सूचांकमा समेटिन थालेको हो।