बाँके, माघ ६ । युवायुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी बीस वर्षपारि’ भनाइ झुण्डिएको वर्षौँ भइसक्यो। वर्षौँदेखि नारा घन्काउँदै आए पनि व्यावहारमा लागू गर्न भने चुनौती देखिएको छ।
जिल्लाका केही सचेत युवायुवती र किशोरीहरू बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागि परेका छन्। तर, मुस्लिम तथा मधेशी समुदायमा भने बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मीहरूको भनाइ छ।
बाल अधिकारकर्मी साहिल अन्सारका अनुसार बाँके जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क छैन। बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाई छ। गत आर्थिक वर्षमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र नेपालगञ्जमा बालविवाहका छ वटा उजुरी परेको थियो। ‘उजुरीको सङ्ख्या कम देखिएको मात्र हो, मुस्लिम र मधेशी समुदायमा बालविवाह त निर्वाध हुने गरेको छ,’ अधिकारकर्मी कमला पन्त भन्छिन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो रहेको बताए।
बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा यसलाई नेपालको कानूनले बालविवाह भन्ने गरेको छ। बाँके जिल्लामा बालविवाह बढ्दै गएको छ। बालविवाह रोकथामका लागि सरकारी तथा गैर सरकारी सङ्घसंस्थाले काम गरिरहेका छन्। बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरुपमा रोकिन भने सकेको छैन।
नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर, बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन। बालविवाहका घटना बढ्दै गएको अवस्था छ।
बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता विश्वजित तिवारीको सुझाव छ। बाँके जिल्ला मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जिल्ला हो। विशेष गरेर सो समुदायमा २० वर्र्ष नपुग्दै विवाह गर्ने प्रचलन छ तर, कानूनले २० वर्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ।
केही महिनाअघि बाँकेमा छोरीको विवाह १६ वर्र्ष मा नै गर्न पाउँ भनेर मागसमेत उठेको थियो। सो मागलाई समाजका अगुवाले गैरकानूनी माग भनेर टिप्पणी गरेका छन्। – रासस