काठमाडौं, माघ ६ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाएपछि आज दिउँसो बैठक बस्ने निश्चित भएको हो। गत पुस ११, १६ र २७ गतेका लागि बोलाइएको बैठक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख उम्मेदवारको टुंगो लगाउन नसक्दा यसअघि पटकपटक स्थगित भएको थियो।
आज दिउँसो बस्ने बैठकमा पुस ११ गतेको बैठककै लागि तय गरिएको कार्यसूची रहने सम्भावना छ। आजको बैठकको पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका बनाउनु हो। सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ।
नेकपाले सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै यसअघि राजिनामा दिन नमानेकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पनि आज राजीनामा दिने सम्भावना रहेको स्रोतले जनाएको छ। नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन यसअघि नै आग्रह गरिसकेको छ।