काठमाण्डौं, पुस २४ । नेपाल राष्ट्र बैंकले घरजग्गा र हायर पर्चेज कर्जामा कडाइ गरेसँगै सवारी साधनको व्यापार घटेको छ।
राष्ट्र बैंकले पुष पहिलो साता ऋणीले लिने कर्जाको भुक्तानी कर तिरेको आम्दानीको ५० प्रतिशतभन्दा बढी नहुने गरी व्यवस्था गर्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो। त्यसको असर सवारीसाधन क्षेत्रमा देखिएको छ। पछिल्लो केहि दिनयता सवारी साधनको बिक्री २० प्रतिशतले घटेको नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए।
उनले पछिल्लो समय नाडा अटो शोमा बुकिङ भएका सवारी साधन डेलिभरी गर्नसमेत नसकिएको बताए। उनले नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले अटोमोबाइल क्षेत्रमा सुस्तता आएको बताए।
राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले हायर पर्चेज, घरजग्गालगायतका क्षेत्रमा दिइने कर्जामा आफ्नो कर चुक्ता भएको आम्दानीको ५० प्रतिशतबाट किस्ता तिर्न भ्याउने गरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिएको र यसले कर्जा लिने व्यक्तिले भविश्यमा तिर्न नसक्ने अवस्थाको अन्त्य हुने बताए।
उनले सवारी साधनको व्यवसायमा सुरुमा समस्या देखिए पनि भविष्यमा राम्रै फाइदा पुर्याउने बताए। उनले अर्थतन्त्रमा थिति बसाल्न र संस्थागत सुधार गर्न खोज्दा सुरुसुरुमा समस्या आउने तर पछि समान्य हुने भएकाले यसले दीर्घकालमा कुनै असर नगर्ने बताए।
व्यवसायीले चालु आर्थिक वर्षमा सवारी साधनको बिक्री घटेको र राष्ट्र बैंकले पछिल्लो समय लागू गरेको व्यवस्थाका कारण अझै व्यापार घट्ने बताएका छन्।


























