मुग्लिन, २४ पुस। पहिरो रोकथामको लागि काम गर्न भन्दै मंसिर २७ गतेदेखि दैनिक ४ घण्टा बन्द गरिदै आएको मुग्लिन–नारायणगढ सडकखण्ड नियमित रुपमा सुचारु भएको छ।
पछिल्लो पटक पुस २२ गते सूचना जारी गरि भोलि पुस २५ गतेबाट बन्द सडक सुचारु गरिने भनिए पनि मौसम परिवर्तन भै पानी परेसँगै आजदेखि नै सडक नियमित रुपमा सुचारु गरिएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए।
यद्यपी घोषित रुपमा दैनिक ४ घण्टा सडक बन्द नभएपनि पहिरो रोकथामको काम नसकिएकोले बिच बिचमा केहि समय सडक अवरुद्ध हुने उनले बताए। पहिरो रोकथामको लागि काम गर्न भन्दै मंसिर २७ गतेदेखि दैनिक रुपमा बिहान ११ बजेदेखि ३ बजेसम्म ४ घण्टा सडक बन्द गरिदै आएको थियो।
सुरुवातमा पुस १५ गतेसम्म बन्द गर्ने भनिए पनि काम नसकिएको भन्दै दुई पटकसम्म म्याद थप गरेर पुस २४ गतेसम्म सडक बन्द गरिएको थियो।