बुटवल, २१ पुस । ‘नेपाल स्टार’ को पहिलो अडिशन बुटवलमा भएको छ। नेपाल टेलिभिजनको प्रस्तुती र कि एडभरटाजिङ्गको व्यवस्थापनमा हुन लागेको गायन प्रतियोगिताको पहिलो अडिशन शनिबार बुटवलको श्रीकालिका मानवज्ञान माविको प्राङ्गणमा भएको हो।
हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारासहित सुरु हुन गइरहेको ‘वाईवाई नेपाल स्टार’ को पहिलो अडिशनमा उलेख्य संख्यामा उपस्थिति छ। बुटवल आसपासका साथै गुल्मी, अर्घाखाँची, नवलपरासी, पाल्पा, दाङ, प्युठान लगाएतका जिल्लाबाट अडिसनका लागि आएका थिए। प्रतियोगिताको अडिशन अब धनगढी, सुर्खेत, पोखरा, चितवन, वर्दिवास र इटहरीमा हुनेछ।
नेपाल स्टारको अडिशन अब २२ गते धनगढी, २५ गते सुर्खेत, २९ गते पोखरामा हुने छ। त्यसैगरी माघ ३ गते चितवन, ६ गते वर्दिवावस र ९ गते इटहरिमा अन्तिम अडिसन हुने छ। प्रतियोगितामा रामकृष्ण ढकाल, आलोकश्री तथा अञ्जु पन्त निर्णायकको भूमिकामा रहेका छन्। नगद ५० लाख सहित विभिन्न अवसर तथा गिफ्ट ह्याम्पर पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३५ लाख प्राप्त गर्नेछन भने अन्य तीन जनाले नगद ५–५ लाख प्राप्त गर्नेछन्।
१६ देखि ४५ वर्ष उमेर समूहका जो कोहीले सहभागिता जनाउन पाउने यस प्रतियोगिताको अडिशनका लागि फारम, उमेर खुल्ने परिचयपत्र सहित दुई ओटा फोटो आवश्यक पर्नेछ ।फारम अनलाइनमार्फत डाउनलोड गरेर पनि भर्न सकिने वा अडिशन स्थलमै पनि भर्न सकिने व्यवस्था रहेको प्रतियोगिताको व्यवस्थापकका साथै कि एडभरटाइजिङका बजार ब्यवस्थापक दिनेश पोखरेलले जानकारी दिए ।