काठमाडौँ, पुस २१ । नेपालको पश्चिमी क्षेत्रबाट फेरि पश्चिमी न्यून चापीय प्रणाली भित्रिने भएकाले सोमबार बेलुकादेखि मौसममा प्रभाव पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तर दिनभर भने मौसम देशभर सामान्यतया सफा नै रहने मौसमविद समिर श्रेष्ठले जनाएका छन्। हाल मध्य र पूर्वका तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। पश्चिम तराईमा भने हुस्सु कुहिरो तुलनात्मक रुपमा कम रहेको छ।
पूर्वी र मध्य तराईमा लागेको हुस्सु र कुहिरो दिउँसो हट्ने मौसमविद श्रेष्ठले बताए। काठमाडौँसहितका क्षेत्रमा भने दिनभर नै मौसम सफा रहने जनाइएको छ। सोमबार बिहान १.६ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको तापक्रम दिउँसो बढेर १६ डिग्रीसम्म पुग्ने छ।
पश्चिमका क्षेत्रमा बेलुकादेखि मौसम बदली हुने छ। तर सोमबार नै वर्षा हुने सम्भावना भने नरहेको मौसमविदले बताएका छन्। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव मंगलबारदेखि पश्चिम हुँदै मध्य र पूर्वी क्षेत्रमा पर्ने जनाइएको छ।