चितवन, पुस १८ । गजल मञ्च चितवनको ‘गजलसँग’को छैठौं शृङ्खला भोलि शनिबार भरतपुरमा हुँदैछ। छैठौं शृङ्खलामा संस्थापक अध्यक्ष किसान प्रेमीसँगै पूर्व अध्यक्षहरु ऋषिप्रसाद लामिछाने (गोर्खे साइँलो), पुष्प अधिकारी अञ्जली, रमेश प्रभात र प्रभाकर पण्डितको गजल वाचन हुनेछ। गजलमञ्चले पाँचैजना पूर्व अध्यक्षहरुलाई सम्मान स्वरुप पहिलो पटक मञ्च दिन लागेको गजल मञ्च चितवनका अध्यक्ष द्वारिका नेपालले जानकारी दिए।
पूर्व अध्यक्षहरुको गजल वाचन कार्यक्रम निवर्तमान कार्यसमितिको योजना अनुसार भएता पनि अन्य कार्यक्रमको व्यस्तताले गर्दा उक्त कार्यक्रम वर्तमान कार्यसमितिलाई जिम्मेवारी दिएको पूर्व सचिव विनोद अनुुजले बताए। २०६४ सालमा स्थापना भएको गजल मञ्च चितवनबाट ‘गजलसँग’मार्फत पाँचौँ शृङखलासम्ममा २१ जना गजलकारहरुले गजल वाचन गरिसकेका छन्। नेपाली साहित्यको गजल क्षेत्रको लागि गजल मञ्च चितवनको महत्त्वपूर्ण योगदान रहँदै आएको छ।

























