काठमाडौं, ०४ मंसिर। मंसिर १ गते सिरहाबाट २० हजार लिटर डिजेलसहित बेपत्ता भएको ना ४ ख ४१६३ नंम्बरको ट्यांकर धनुषाको रामदहैयामा फेला परेको छ। राम मन्दिर छेउको हाइवेमा पार्किङ गरेर राखेको अवस्थामा ट्याङ्कर फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो। तर, ट्यांकर भने रित्तिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक (एसपी) शेखर खनालले जानकारी दिए। घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाल आयल निगमको इन्धन डिपो अमलेखगंजबाट मंसिर १ गते दिउँसो २ बजे प्रदेश १ प्रादेशिक कार्यालयका लागि डिजेल बोकेर गएको ट्यांकर हराएको थियो। निगमका ढुवानीकर्ता राजेशकुमार गुप्ताको नाममा करार सम्झौता भई सञ्चालनमा रहेको उक्त ट्यांकर काठमाडौं उपत्यकाको बिक्री मूल्य अनुसार १९ लाख ४० हजार रुपैयाँ बराबरको डिजेल बोकेको ट्यांकर हराएको थियो।
निगमको प्रदेश १ प्रादेशिक कार्यालय विराटनगर लैजाने क्रममा सिरहा जिल्लाको लहानमा मूल राजमार्गको हुलाक कार्यालय अगाडि विश्राम गरेको अवस्थामा राति १२ देखि १ बजेको बीचमा लुटेराको चंगुलमा परेको निगमले जनाएको छ। ट्यांकर हराएको बारे सत्यतथ्य बुझ्न भन्दै यसअघि निगमले प्रादेशिक कार्यालय प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन गरेको छ। छानबिन समितिलाई ७ दिनको समय दिइएको छ।