– नारायण ढुङ्गाना,
काठमाडौं, १६ कात्तिक। महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झँदै कवि, कलाकार, पत्रकार, गायक र चलचित्रकर्मीहरुले शनिबार काठमाडौँमा विकृति, विसङ्गति, माया, प्रेम, शान्ति र समानताका विषय आ–आफ्ना रचनामार्फत छरपष्ट पारेका छन्।
छन्दमा समेटिएका कवितामा मात्रै होइन स्रष्टाका मुक्तक र गजलमा उपस्थित दर्शक मोहित बने। अधिकांश कविहरुले समसामयिक घटनाक्रम र विकृति, विसङ्गतिविरुद्ध तिखो व्यङ्ग्य प्रहार गरेका थिए। उनीहरुको प्रस्तुतिमा समर्थन जनाउँदै उपस्थित दर्शकले ताली बजाएर स्वागत गरे।
स्रष्टाहरुको भीडमा उपस्थित वरिष्ठ साहित्यकार तुलसी दिवसको मन रचनावाचन नगरी बस्न मानेन। प्रेम किशोर–किशोरीबीच मात्रै हुँदैन। आमा र सन्तानबीचको माया, वृद्धवृद्धा तथा बालबालिकाबीचको माया फरक–फरक हुन्छ। कविताको अर्थ एकल पनि हुँदैन।
कवि या पाठकले आफ्नो ढङ्गले अर्थ लगाएर बुझ्न सक्छ। कविले लेखेकै अर्थमा बुझ्नुपर्छ भन्ने छैन। साहित्यकार दिवसले आफ्नो कविताको अर्थ लगाउने जिम्मा दर्शकलाई छाड्दै यसरी रचना प्रस्तुत गरे।
तिमी नखोज मलाई बाहिर
म तिमै आँखाको नानीमा बसिरहेछु
सित्तै किन रोयौ मलाई सम्झेर
म तिम्रै आँखाको नानीमा बगिरहेछु ।।।
महाकवि देवकोटाको १११औँ जन्मजयन्तीको अवसरमा विशालनगर पुस्तकालयद्वारा काठमाडौँको हाँडीगाउँमा भएको विशेष कविगोष्ठीमा उनले प्रस्तुत गरेका कवितामा प्रेमभाव झल्किन्छ।
देवकोटाको प्रतीभा बाढी र झरीजस्तै अनियन्त्रित रहेको उल्लेख गर्दै दिवसले महाकवि देवकोटासामु कवितावाचन गर्दाको क्षण स्मरण गरे। कविता तालीभन्दा माथि या तल भए पनि त्यसको मर्म सशक्त र सवल हुनुपर्ने त्यहीबेला देवकोटाले आफ्नो कविताको प्रशंसा गरेकोबाट महसुस भएको उनको अनुभव छ।
झण्डै ४० कवि तथा कवयत्रीले रचनावाचन गरेको गोष्ठीमा उपस्थित कलाकार, पत्रकार, गायक, चलचित्रकर्मीदेखि नयाँ र पुराना स्रष्टाले राजनीतिप्रति तिखो व्यङ्ग्यसँगै विकृति, विसङ्गति, माया, प्रेम, शान्ति र समानताका विषय रचनामार्फत उठान गरेका थिए।
आसन्न मृत्यु खोकीराख्यौँ
बोझ जिन्दगीको बोकीराख्यौँ
गाँस नाता अँध्यारोसित
उज्यालो सधैँ खोजी राख्यौँ ।।।
गजलका हस्ती ज्ञानुवाकर पौडेलको एक मात्रै गजलले उपस्थित स्रष्टाको वाहवाही पाएको थियो। कवि डा.बेञ्जु शर्माले महाकवि देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै ‘निस्त्रीह साँझ’ शीर्षकमा शोक कविता प्रस्तुत गरिन्।
अलिनो मेरो बस्तीभित्र साँझ विस्तारै ओर्लँदैछ
ज्वरोले दिमाग झ्याप्प छोपेजस्तो
सुगरको रोगीको थकित गोडामा
सूर्यको शक्ति शिथिल भएर
एउटा निष्पन्ध तलाउको आँखामा
कुनै धापभित्र विस्तारै केही पुरिँदैजस्तो
त्यसो त चलचित्र निर्देशक दयाराम दाहाल पनि रचनावाचन नगरी बस्न सकेनन्। क्यामरा अघि बसेर सधैँ ‘एक्सन र कट्’मा रमाउने दाहालले कविता र फिल्मको अलग–अलग बाटोलाई जोड्ने प्रयास गर्दै कविता वाचन गरे।
हामी बाँडियौँ, नराम्रोसँग बाँडियौँ
कित्ता–कित्तामा बाँडियौँ,
कित्ता नम्बर एक, दुई, तीन।।। भन्दै
अलग–अलग कित्तामा बाँडियौँ
हामी दिन प्रतिदिन नराम्रोसँग बाँडियौँ
र त हामी भाँडियौँ।।।
उनको कवितामा साझा हितलाई छाडेर राजनीति, सङ्घसंस्था, समूह तथा जातजाति र धर्ममा मानिस बाँडिएकोप्रति व्यङ्ग्य मिसिएको थियो। हरेक तिहारमा समसामयिक विषयमा दुनियाँलाई डाम्दै आएको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गेको व्यङ्ग्यात्मक कवितामा उपस्थित स्रष्टा पेट मिचिमिचि हाँसे। उनले समसामयिक विकृति, विसङ्ति र नेताका झुटा आश्वासनविरुद्ध कवितामार्फत गरेको छेडछाड निकै रूचाइए।
माथिमाथि जानुछ
छिटोभन्दा छिटो चन्द्रमा छुनुछ
त्यसैले यात्रीहरु,
सबैले शिर ठाडोठाडो गर्नु
कोही ननिहुरिनु, भुईँतिर नहेर्नु
भूईँतिर हेरेर धुलो उड्यो नभन्नु
हिलो भयो नभन्नु
महङ्गी, खानेपानी र रोगका कुरा नगर्नु
पहिरो, बाढी र भोकका कुरा नगर्नु
महान् यात्राको शुभसाइतमा मसिना थाङ्ना कुरा
गर्दै नगर्नु।।।
गोष्ठीमा उपस्थित सिमित कहिला कविहरूले भने महिलाका पीडा वेदना, सामाजिक असमानता र आमाको महत्वका बारेमा रचनावाचन गरेका थिए। मेनका पोखरेलले रचनामार्फत ‘छोरो नदेऊ’ शीर्षकमा सामाजिक दासताबाट पाएको सामाजिक पीडा समेटेर विद्रोहको चेत छर्दै छोराछोरीको समान महत्त्वबारे प्रष्ट्याइन्।
गोष्ठीमा आ–आफ्ना रचनामार्फत कवि रवीन्द्र आशिषले ‘छायाँ’ शीर्षकमा, मदन कार्कीले स्वाभिमानी र आत्मनिर्भर बाँसको कथा, रुद्र अधिकारीले यथार्थपरक मुक्तक, डम्बर घिमिरेले समसामयिक व्यङ्ग्य, विजयध्वज थापाले देशप्रेमको भाव, रामबहादुर पहाडीले पाँच लाइनमा रहने गजल र मुक्तकबीचको ‘लिम्रिक’ विधाबाट जो पनि सहिद बन्ने प्रसङ्गलाई व्यङ्ग्यात्मकरूपमा कोट्याउने प्रयास गरे।
गोष्ठीमा त्रिभुवनचन्द्र वाग्ले, गायक भुवन शिवाकोटी, रुद्र अधिकारी, अनिता लामा, उर्मिला पन्त, महेन्द्रबहादुर गुरुङलगायतले रचनावाचन गरेका थिए। कवि रोचक घिमिरेले महाकवि देवकोटासँग आफ्नो साक्षात्कार भएको प्रसङ्ग जोड्दै जन्मजात प्रतिभावान देवकोटा पछिल्लो समयमा भनिएजस्तो गरिब पनि नभएको र मनोरोगी पनि नभएको जिकिर गरे।
घनघोर दुःख सागर संसार जान भाइ
नगरे घमण्ड कहिल्यै, मर्नु छ हामीलाई।।।
‘महाकवि देवकोटाले १० वर्षको उमेरमा कोरेको उक्त कविताले नै उनको जन्मजात प्रतिभालाई प्रष्ट्याउँछ,’ उनले भने, ‘वि.सं. १९६६ कात्तिक २७ गते लक्ष्मी पूजाको दिन जन्मिएका देवकोटाको १९८५ साल बैशाख १८ र २५ गते गोरखापत्रमा पहिलो कविता छापिएको थियो। उक्त कवितालाई मैले २०६९ सालमा ‘रचना’ पत्रिकामा समेत समावेश गरेको थिएँ।’
कतिपय साहित्यकारहरुले १९९१ सालमा लेखिएको ‘पूर्णिमाको जलाधि’लाई देवकोटाको पहिलो कविता भनेर उल्लेख गरेकामा उनले रोष प्रकट गरे। महाकवि देवकोटाको जुद्धशम्शेरबारे ‘समर्पण’ शीर्षकमा लेखिएको पुस्तक पहिलो भएको जानकारी दिँदै घिमिरेले अझै धेरै पाण्डुलिपिहरु प्रकाशित हुन नसकेको उल्लेख गरे।
वरिष्ठ गजलकार पौडेलले पछिल्लो समयमा साहित्यकारहरुमा पठन र सुन्ने संस्कृति नभएको जिकिर गर्दै आफूले कवितावाचन गरेपछि घर हिँड्ने चलन स्वयं कविका लागि नै घातक हुने बताए। कविहरुले महाकवि देवकोटाको, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन…, कुन मन्दिरमा जान्छौँ यात्री….लगायत कविता लय हालेर प्रस्तुत गरेका थिए।
आयोजक विशालनगर पुस्तकालय २०१९ सालमा स्थापना भएको हो। यसले साहित्यिक कार्यक्रमसँगै बुद्धिचाल, ब्याडमिन्टन प्रतियोगितालगायत विभिन्न खेलकूद कार्यक्रमसँगै सामाजिक सचेतना र सहयोगका कार्यक्रम गर्दै आएको छ।
पुस्तकालयका अध्यक्ष सुनिल कर्माचार्य र सदस्य गणेश श्रेष्ठले विगत २४ वर्षदेखि महाकवि देवकोटाको सम्झनामा यहाँ कविगोष्ठी गर्दै आएको जानकारी दिँदै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। – रासस


























