काठमाडौं, १६ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार गुहेश्वरी पुगेर छठ पूजा गरेकी छन्। गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गरेकी हुन्।
उक्त स्थानमा नदीको दुवै किनारमा ६५० भन्दा बढी छठी माताको पूजाका लागि पूजाघाट निर्माण गरिएको छ। नदीका दुवै किनार बिजुली बत्तीले झकिझकाउ पारिएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठपर्व बिहीबारदेखि सुरू भएको हो।
‘महाभारत’मा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। उक्त समयमा पाण्डव विराट राजाको दरबारमा आश्रय लिएको उल्लेख छ। लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।
सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुया छठ व्रत बसेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरूवात भएको विश्वास गरिन्छ।
छठपर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ। छठी मातालाई झुप्पा–झुप्पा फल चढाउँदा सूर्य प्रशन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यताअनुरुप भक्तजनले सिङ्गो केराको घरी, भोगटे, बिमिरो, उखु, नरिवलजस्ता माटो माथि र माटोमुनि फल्ने मौसमअनुसारको फलफूल चढाउने गर्दछन्।
तराई–मधेशमा स्थायी घर भई काठमाडौँ उपत्यकामा विभिन्न पेशा व्यवसायमा संलग्न व्रतालु छठपर्व मनाउन र छठी माताको दर्शनका लागि ठूलो सङ्ख्यामा गुह्येश्वरी क्षेत्रमा पुगेका छन्।
कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधाना गरी अर्घ्य दिने र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठपर्व समापन हुन्छ। राजधानीका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, बल्खु, नख्खु, विष्णुमतीलगायत नदी किनारमा पनि भव्यरूपमा छठपर्व मनाइँदै छ।
नारायणी नदी किनारमा पनि छठ पर्व
चितवन र नवलपुर जिल्लाको सिमानामा पर्ने नारायणी नदी किनारमा पनि शनिबार साँझ छठ पर्व मनाउने भक्तजनहरूको घुइँचो लागेको छ। साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन हज्जारौँ भक्तजन नदी किनारमा भेला भएका छन्।
चितवन जिल्ला पहाड र तराईका जिल्ला जोड्ने मुख्य थलो भएकोले पनि यहाँ पहाड र तराई समुदायका सबैजसो पर्व मनाउनेहरूको बसोबास रहेको पाइन्छ। तसर्थ पछिल्लो समय छठ पर्व पहाडी समुदायका मानिसहरूले पनि धुमधामका साथ मनाउन थालिएको छ।