चितवन, १६ असोज। चितवनस्थित भरतपुर कारागारमा कैदीबन्दीको चाप बढेसँगै ५० जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ। विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका ५० जनालाई स्थानान्तरण गरी हेटौँडाको भीमफेदी कारागारमा पठाइएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए।
कारागार व्यवस्थापन विभागसँगको सहकार्यमा भरतपुर कारागारबाट स्थानान्तरण गरी भीमफेदीमा पठाइएको उनले बताए। स्थानान्तरण गरिएकामा लागुऔषध मुद्दाका २४, जबरजस्ती करणीका ११, सवारी ज्यान मुद्दाका ६, ज्यान मार्ने उद्योगका २, चोरी मुद्दाका ३, बहुविवाह, हाहतियार खरखजना, कर्तव्य ज्यान र जीउ मास्ने/बेच्ने मुद्दाका एक/एक जना रहेका छन्।
जिल्लामा औषधि उपचारका लागि पठाइने बिरामी कैदीबन्दी र नवलपुरमा कारागार नहुँदा त्यहाँबाट आएका कैदीबन्दीका कारण दिनहुँ चाप बढ्दै गएको छ। हेटौँडामा महिला बन्दीगृह नहुँदा यहाँको कारागारमा महिला कैदी तथा बन्दीहरुको चाप पनि बढ्दै गएको कार्यालय प्रमुख काफ्लेको भनाइ छ।
दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको भरतपुर कारागारमा स्थानान्तरणपछि ७६२ कैदीबन्दी छन्। तीमध्ये ६८ महिला र ६९१ पुरुष कैदीबन्दी हुन्। कारागारमा आमासँगै तीन नाबालक रहेका छन्। कारागार साँघुरो भएपछि स्थानान्तरणका लागि ठाउँ खोजी भइरहेको छ। – रासस