काठमाडौँ, १६ असोज। नेपाली सेनाले मुलुकको पर्यटन प्रवर्द्वन गर्न साहसिक एवम् पर्यटकीय गतिविधि सञ्चालन गर्ने भएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर कार्यक्रम सञ्चालन गर्न लागेको सेनाले जनाएको छ।
सरकारले लक्ष्य प्राप्तिमा सहयोग पुर्याउन विदेशी पर्यटकको सहभागिता हुने गरी प्रतियोगितात्मक साहसिक खेलकूदका कार्यक्रम तथा पर्यटकीय गतिविधि सञ्चालन गर्न लागेको हो।
म्याराथन, जङ्गल सफारी, हिमाली पदयात्रा, बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहणलगायतका नौवटा कार्यक्रम आयोजना गर्न लागिएको सेनाले जनाएको छ। उप–प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत सरकारी अधिकारी, विभिन्न राजदूतावासका प्रतिनिधि तथा पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा सेनाले भ्रमण वर्षका अवसरमा आयोजना हुने कार्यक्रमबारे जानकारी गराएको हो।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सरकारी लक्ष्यप्राप्तिका लागि सेनाको तर्फबाट पूर्ण सहयोगको प्रतिवद्धता जनाउँदै भ्रमण वर्ष सफल बनाउन विभिन्न कार्यक्रम गर्नेगरी प्रचारात्मक अभियान थालिएको जानकारी दिए। पर्यटन वर्ष सफल पार्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले नेपालको सुन्दरता र प्रकृतिलाई विश्वसामु पु¥याउनुपर्नेमा जोड दिए।
सेनाले आयोजना गर्न लागेको कार्यक्रमबारे जानकारी दिँदै सेनाका बलाधिकृत रथी शरद गिरीले विविधतायुक्त नेपाल पर्यटनका हिसाबले प्रचुर सम्भावना रहेको बताए। प्रमुख सेनानी सुवास खड्काले काभ्रेको पदयात्रा र सेनानी राजेश चन्दले नेपाली सेनाले आयोजना गर्ने खुला साहसिक खेलकूद प्रतियोगिताका बारेमा प्रस्तुति दिएका थिए।
महासेनानी सुवास थापाले जङ्गल सफारी र हिमाली पदयात्रा, प्रमुख सेनानी अर्जुन बस्नेतले प्याराग्लाइडिङ कार्यक्रम, सेनानी विनोद चौलागाईंले लिगलिगकोट दौड, सेनानी दिनेश खड्काले पाँचखालमा आयोजना हुने रन फर फनका बारेमा जानकारी गराएका थिए।
यस्तै प्रमुख सेनानी अशोक खाँडले पोखरामा हुने नेपाल म्याराथन, प्रमुख सेनानी सुनिलसिंह राठौरले बहुराष्ट्रिय संयुक्त सैनिक सगरमाथा आरोहण २०२० कार्यक्रमका बारेमा जानकारी गराएका थिए। ‘गन्तव्य सगरमाथा’ नाम दिइएको उक्त कार्यक्रम ९० दिनको हुने नेपाली सेनाले जनाएको छ।
उक्त समारोहमा उप–प्रधानमन्त्री पोखरेलले मुलुकले लिएको लक्ष्य भेट्नका लागि नेपाली सेनाले अगाडि सारेको जस्तो कार्यक्रम जरुरी रहेको औँल्याउँदै विदेशमा पनि प्रचारात्मक कार्यक्रम आवश्यक भएको बताए। उच्च पहाडी क्षेत्रमा सफारी, घना जङ्गल क्षेत्रमा मौसमअनुसारका पर्यटकीय गतिविधि सञ्चालन गर्नसके विविधतायुक्त नेपालमा पर्यटन विकासले फड्को मार्ने विश्वास व्यक्त गरे।


























