काठमाडौं ११ असोज। सवारी दुर्घटना कम गर्न प्रहरीले सवारी चालकहरूलाई मापसे चेकजाँच गरेर कारवाही गर्छ। तर, काठमाडौँमा एक जना बर्दीवाल प्रहरी नै ड्युटीमा रहेकै बेला मादक पदार्थ सेवन गरेको भेटिएपछि पक्राउ परेका छन्।
महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत प्रहरी निरीक्षक देवेन्द्रकुमार पाल ड्युटीकै समयमा मादक पदार्थ सेवन गरेको भन्दै पक्राउ परेका हुन्। महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (डिएसपी) पवन भट्टराईको टोलीले पाललाई नियन्त्रणमा लिएको हो। शुक्रबार राति ड्युटीकै समयमा मादक पदार्थ सेवन गरेको फेला परेपछि डिएसपी भट्टराई नेतृत्वको टोली चेकिङका लागि पुगेको थियो।
भट्टराईको टोलीले उनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ। मध्यराति पालको मेडिकल जाँच गरी प्रहरी हिरासतमा राखिएको छ। उनीमाथि विभागीय कारबाही गरिने प्रहरीले जनाएको छ।