चितवन, २२ असोज। गतवर्ष मात्रै चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको बहिरंग विभागबाट एकलाख ३७ हजार ८६२ जना क्यान्सरका बिरामीले सेवा लिएका छन्। १५औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा अस्पतालको २०औं वार्षिकोत्सवको अवसरमा उक्त तथ्यांक सार्वजनिक गरेको हो।
यो संख्या अघिल्लो वर्ष सन् २०१७ को तुलनामा १२ हजार ८२१ ले बढी रहेको अस्पतालले जनाएको छ। अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार सन् २०१७ मा एकलाख २५ हजार ४१ जनाले बहिरंग सेवा लिएका थिए। तीमध्ये १० हजार ५२८ पुरूष र १९ हजार ४४० महिला नयाँ बिरामी थिए। बाँकी फलोअपमा आएका थिए।
२०१९ को मे महिनासम्ममा बहिरंग बिभागबाट १२ हजार ६२४ जनाले सेवा लिएका छन्। गएको १० वर्षको अवधिमा क्यान्सरको उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या १० गुणाभन्दा धेरै बढेको अस्पतालको तथ्यांकले देखाएको छ।
नेपालमा बर्सेनि ५० हजारदेखि ७० हजार क्यान्सरका नयाँ बिरामी थपिन थालेका अनुमान छ। तीमध्ये ३५ प्रतिशत मात्र अस्पताल पुग्छन्। अस्पतालमा दर्ता बिरामी संख्याको आधारमा नेपालमा क्यान्सर रोग तीव्ररूपमा बढेको सहजै बुझ्न सकिने चिकित्सकहरू बताउँछन्।
फोक्सो र पाठेघरको क्यान्सर बढी
गत वर्ष भरतपुर क्यान्सर अस्पतालमा थपिएका पाँच हजार ३३४ जना नयाँ रोगीमध्ये महिला २९ सय ५४ र पुरुष २३ सय ८० थिए। अघिल्लो वर्षको तुलनामा यो संख्या २०० जना बढी हो। यीमध्ये पनि सबभन्दा बढी फोक्सोमा क्यान्सर भएका बिरामी छन्।
२०१८ मा फोक्सोमा क्यान्सर भएका बिरामी ६७० जना थिए। ६०–७० वर्ष उमेर समूहका धेरैलाई फोक्सोको क्यान्सर भएको पाइएको छ। यसमा महिलाको भन्दा पुरुषको संख्या बढी छ।
दोस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर छ। गत वर्ष ५८३ महिलाले पाठेघरको क्यान्सरको उपचार गरेको अस्पतालको तथ्यांकमा देखिन्छ। ४५ वर्षदेखि ६५ वर्ष बीचका महिलामा यो रोग बढी देखिएको छ।
तेस्रो नम्बरमा स्तनको क्यान्सर छ। गत वर्ष ५२० जना महिलाले अस्पतालमा स्तन क्यान्सरको उपचार गराएको देखिन्छ। अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख सिवाकोटीका अनुसार, ४० देखि ६० वर्षसम्मका महिलामा बढी स्तन क्यान्सर देखिएको छ।