चितवन, २८ भदौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यात्रुसँग क्षमा मागेका छन्। शनिबार नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ फर्कने क्रममा मन्त्री भट्टराईकै कारण बुद्ध एयरको विमानको उडान ढिला भएपछि सँगै राजधानी जान लागेका यात्रुले मन्त्री हुँदैमा जनतालाई दुःख दिन नपाइने भन्दै मन्त्री भट्टराईप्रति आक्रोश पोखेका थिए।
विमानस्थलमै यात्रुहरुको प्रश्नको वर्षा भएपछि मन्त्री भट्टराईले शनिबारै आफ्नो फेसबुक पेजमार्फत यात्रुहरुमा पर्न गएको असुविधाप्रति क्षमा मागेका हुन्। मन्त्री भट्टराईले भनेका छन्, आइतबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको उत्तर दिनुपर्ने भएकोले जसरी भए पनि काठमाडौँ फर्किनु पर्ने बाध्यताले गर्दा बुद्ध एयरसँग समन्वय गरी केही ढिला हुन पुगेको स्वीकार गर्दै फेसबुकमार्फ माफी मागेका हुन्।
यस्तो छ, मन्त्री भट्टराईको फेसबुक स्टाटस :
आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सवको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमाडौँ फर्कने मेरो योजना रहेको थियो। तर, कार्यक्रम ढिला भएको कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौँ फर्कने क्रममा केही ढिला हुन गएको सत्य हो।
सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो। भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमाडौँ फर्कनै पर्ने दबाबमा म थिएँ। नेपालगंज बिमानस्थलमा ३ ४ जना व्यक्तिहरु आक्रमक शैलीमा मेरा विरुद्ध प्रस्तुत हुनुभयो।
एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने। त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालेँ। सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु। मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु।


























