चितवन, ३१ भदौ। सोमबार रातिदेखि नै परेको बर्षाका कारण अवरूद्ध भएको माडी–ठोरी–भरतपुर सडकखण्ड मंगलबार साँझदेखि खुलेको छ। चुरे क्षेत्रमा पानी पर्न छाडेलगत्तै सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका हुन्।
वर्षाको कारण अवरूद्ध भएको विद्युत् सेवासमेत पुनः सुचारु गरिएको छ। लागातार पानी परेपछि बाढीको त्रास फैलिएको माडीको जनजीवन सामान्य बन्दै गएको छ। माडी नगरक्षेत्रमा पछिल्लो १२ घण्टामा २१६ दशमलव ६ मिलिमिटर वर्षा मापन गरिएको छ।
माडी नगरपालिकाले दिएको जानकारीअनुसार माडीका खोलामा पानीको सतह चेतावनीको तहमै रहेको छ। माडी नगरपालिकाका तटीय क्षेत्रमा रहेका केही घरहरुमा बाढी पसेको छ भने केही विद्यालय तथा संस्थाहरु पनि जलमग्न भएका छन्।
यद्यपि माडीमा बाढीका कारण कुनै मानवीय क्षति भने नभएको माडी नगरपालिका सामाजिक विकास शाखाका सन्तोष सुवेदीले बताए। माडी नगरपालिका वडा नं. १ मा सेरुवा टोलका अधिकांश घर डुबानमा परेका छन्। भूतिया खोलाले अम्मुबास क्षेत्रको चार घर, वडा नं १ मा चैनपुरमा एक घर डुबानमा परेको छ।
माडी नगरपालिका–२ को कुन्तिपुरका घरहरुमा बाढीले क्षति पुर्याएको छ भने खोला आसपास तटीय क्षेत्रका अधिकांश घरहरुमा पानी बसेको छ। खोलामा भने पानीको बहाब उच्च रहेकाले सर्तकता अपनाउन आग्रह गरिएको छ।