चितवन, १८ भदौ। दोस्रो चरणको कार्यक्रमअन्तरगत राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग चितवनको बुधबार नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका छन्। गत असार १९ गतेबाट परिचयपत्र वितरण गर्दै आए पनि उद्घाटन भने बुधबार गरिएको हो। सोही क्रममा नेकपाका अध्यक्ष दाहालले आफ्नै राष्ट्रिय परिचयपत्र समेत चितवनबाटै लिएका छन्। सुरक्षा संवेदनशीलता र सुशासनका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य रहेको उनले बताए।
पहिलो चरणको कार्यक्रम २०७५ मंसिर ३ गते सिंहदरबार परिसर र पाँचथर जिल्लाबाट सुरू गरेको थियो। दोस्रो चरणको कार्यक्रमअन्तर्गत चितवनसहित झापा, संखुवासभा, सप्तरी, महोत्तरी, ललितपुर, रसुवा, स्याङजा, तनहुँ, कपिलवस्तु, गुल्मी, सल्यान, जुम्ला, अछाम र कञ्चनपुरबाट परिचयपत्र वितरण कार्य सुरू गरेको हो।
विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार चालू आर्थिक वर्षभित्रै देशभरका सबै जिल्लामा यो सुविधा पुर्याउने लक्ष्य लिइएको छ। ‘सुरू भएको तीनवर्षभित्रमा सबै नागरिकलाई परिचयपत्र वितरण गरिसक्ने विभागको योजना छ,’ उनले भने, ‘सोही अनुसार काम हुँदै आएको छ।’
देशभरका सबै जिल्लामा सेवा पुर्याइसकेपछि स्थानीय तहमार्फत सेवा दिँदै जाने योजना रहेको उनले बताए। सबै स्थानीय तहका वडाहरुमा घुम्ती शिविर नै सञ्चालन गरेर सेवा दिलाउने तयारी भइरहेको उनको भनाइ छ।

चितवनबाट पाँच हजारले लिए परिचयपत्र
चितवन जिल्लामा बुधबार औपचारिक उद्घाटन गरिए पनि राष्ट्रिय परिचयपत्र वितरणको काम भने दुई महिनाअघिदेखि नै भएको हो। बुधबारसम्मको तथ्यांक हेर्दा चितवनबाट राष्ट्रिय परिचयपत्र लिनेको संख्या पाँच हजार ४९ जना पुगेको छ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार प्रशासनबाट नागरिकता लिएका सबैलाई परिचयपत्र बनाएर पठाउने गरिएको छ। पहिले नै नागरिकता लिइसकेकालाई पनि परिचयपत्र लिन निर्देशित गरिसकेकोले आउने क्रम जारी रहेको उनको भनाइ छ।


























