काठमाडौँ, १८ भदौ। नागरिकको सुरक्षामा खटिएका प्रहरीबाटै रसुवामा एकजना निर्घात कुटिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ। नेपाल–चीन सामान ढुवानीका लागि प्रयोग हुँदै आएको बा. ६ ख. ४९२५ नम्बरको कन्टेनरका चालक श्रीमान् तामाङलाई मंगलबार नेपाल प्रहरीका सहायक निरीक्षक (असई) र हवल्दारबाट रसुवाको टिमुरेमा कुटिएका हुन्।
टिमुरे सडकमा अव्यवस्थित ढंगले राखिएका सवारी हटाउन पुगेको प्रहरीले सामान्य विवादका क्रममा कुटपिट गरेको खुले पनि असई र हवल्दारको पहिचान प्रहरीले गोप्य राखेको छ। भिडियोमा दुई प्रहरीले अश्लील गाली गर्दै, भुत्ल्याँदै लात्ती र मुक्का हानेर चालकलाई लडाएको देखिन्छ। चालकमाथि प्रहरीको ज्यादतिपछि प्रत्यक्षदर्शीले त्यसो नगर्न आग्रह गरे पनि उल्टै प्रहरीले धम्याएका छन्।
‘यसरी कुटपिट गर्न मिल्छ ? ड्राइभरको इज्जत छैन र भन्या ?’ एक प्रत्यक्षदर्शीले प्रहरीलाई सुझाउँछन्। तर, चालकले सुरुमा गल्ती गरेको जिकिर गर्दै प्रहरीहरु लात्ती र मुक्का बर्साइरहन्छन्। भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरी रवैयालाई लिएर यसको आलोचना भएको छ। ट्यांकर चालकहरूले घटनाको विरोधमा बुधबार सवारी आवागमन बन्द गराउने चेतावनी दिएका छन्।
रसुवाका प्रहरी प्रमुख भोगेन्द्र पुरुष ढकालले भने अव्यवस्थित गाडी हटाउन प्रहरीले आग्रह गर्दा घटना भएको र यसमा चालक स्वयं जिम्मेवार रहेको बताए। ‘साँघुरो सडकमा अव्यवस्थित रूपमा राखेको गाडी हटाउन आग्रह गर्दै पुगेको प्रहरीलाई चालक तामाङले हात छाडेपछि घटना भएको हो,’ उनले भने, ‘यसमा प्रहरी जिम्मेवार छैन। तर, प्रहरी नै दोषी देखिए कारवाही हुन्छ।।’
घटनापछि प्रहरी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका उनले बताए। कानूनको रक्षक मान्दै आएको प्रहरीले नै कानून विपरित काम गरेको भन्दै प्रहरीको कार्यशैलीप्रति आलोचना हुन थालेको छ। हुन त प्रहरीबाट भएको यो पहिलो घटना होइन। यस्ता घटनाकै कारण प्रहरी प्रशासन बेलाबेला आलोचित बन्दै आइरहेको छ।
जिप्रकाले निकाल्यो विज्ञप्ति
गोसाइकुण्ड नगरपालिका २ स्थित टिमुरेमा प्रहरीले चालकमाथि गरेको कुटपिट प्रकरणमा जिल्ला प्रहरी कार्यालय रसुवाले एक विज्ञप्ति जारी गरेको छ। चालकमाथि प्रहरीबाट भएको कुटपिट प्रकरणमा ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालय रसुवाले विज्ञप्तिमा उल्लेख छ।
उक्त विषयमा कार्यालयबाट थप छानविन गरिने र दोषमिाथि नियमानुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। सोमबार प्रहरी र चालकबीच गाडी ब्याक गर्ने विषयमा विवाद हुँदा दुई जना प्रहरीले एक चालकलाइ मसातेर लछार पछार गर्दै कुटपिट गरेका थिए।