चितवन, ३२ साउन। मकवानपुरमा डेंगुको संक्रमण मत्थर हुन नपाउँदै चितवनमा पनि डेंगु फैलिएको तथ्य बाहिरिएको छ। चालू आर्थिक वर्षको साउन महिनाभरको तथ्यांक मात्रै हेर्ने हो भने पनि चितवनका विभिन्न अस्पतालबाट १९१ जनाले डेंगुको परीक्षण गराएका छन्। परीक्षण गराएकामध्ये ५६ जनामा डेंगुको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा छ।
खासगरी साउनदेखि कात्तिक महिनासम्मको मौसम डेंगुको लागि उपयुक्त समय मानिन्छ। तर, सुरूकै महिनामा ५६ जनामा संक्रमण देखिनुले चितवनमा पनि डेंगुको त्रास फैलिएको छ। संक्रमण देखिएका ५६ जनामध्ये ३९ जना चितवन जिल्लाका मात्रै बिरामी रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले जानकारी दिए।
‘गतवर्ष वर्षभरकै तथ्यांक हेर्दा चितवन जिल्लामा जम्मा १५ जनामा डेंगुको संक्रमण भेटिएको थियो,’ उनी भन्छन्, ‘तर, योवर्ष एक महिना नबित्दै ३९ जना बिरामी चितवनका मात्रै भेटिनु भनेको डरलाग्दो तथ्यांक हो । त्यसैले सबै सचेत र सजग हुनु आवश्यक छ ।’ यसरी नै संक्रमणको संख्या बढ्दै जाने हो भने कात्तिकसम्ममा महामारीको स्थिति नआउला भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ।
आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ९५१ जनाको परीक्षण गर्दा जम्मा ३१ जनामा डेंगुको संक्रमण देखिँदा चितवनको जम्मा १५ जना मात्रै संक्रमिट भेटिनुले जिल्लामा डेंगु नियन्त्रण हुँदै गएको संकेत पाएको थियो। तर, योवर्षको तथ्यांकले फेरि झस्काएको छ। अझ नयाँ आर्थिक वर्ष लागेयता डेंगु देखिएका मध्ये १० जनाको ठेगाना नखुलेकाले चितवनको संख्या अझ कम देखिएको हुनसक्ने उनले आँकलन गरे। ‘ती १० जनाको पनि ठेगाना खुल्यो भने यो संख्या बढ्न सक्छ,’ उनले भने, ‘५६ जनामध्ये ५ जना नवलपरासीका र दुईजना मकवानपुरका बिरामी रहेका उनले बताए।
आर्थिक वर्ष २०७४/०७५ मा भने चितवनमा एक हजार २९१ जनाको डेंगु परीक्षण हुँदा ५९ जनामा संक्रमण देखिएको थियो। तीमध्ये ३२ जना बिरामी चितवनका थिए। दुई हजार ५६२ जनाको परीक्षण गराएको आर्थिक वर्ष २०७३/७४ मा भने ६८७ जनामा संक्रमण भेटिएको कार्यालयको तथ्यांकमा उल्लेख छ। तीमध्ये ८० प्रतिशत बिरामी चितवनकै रहेका कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले जानकारी दिए।
तर, आर्थिक वर्ष २०७३/०७४ र २०७४/०७५ मा एक/एक जनाको मृत्यु भए पनि त्यसपछिका वर्षहरूमा भने मानवीय क्षति हुनबाट जोगिएको उनले बताए। डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने रोग हो। नेपालमा पहिलो पटक सन् २००४ मा एकजना विदेशी नागरिकमा डेंगुको संक्रमण भेटिएको थियो। त्यसैले डेंगु रोगलाई आयातित रोग पनि भन्ने गरिन्छ। समुन्द्री सतहबाट एक हजार मिटरको उचाइसम्ममा एडिस जातको लामखुट्टे पाइन्छ।
प्रायः नयाँ संरचना निर्माणस्थल तथा सफा पानी जम्ने ठाउँमा यसले फुल पार्ने गर्दछ।
लामखुट्टेको टोकाइबाट बच्न सके डेंगुबाट पनि बच्न सकिने हुँदा काम गर्दा या सुत्दा सावधानी अपनाउन पनि स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा मात्रै टोक्ने हुँदा घर वरिपरि बस्दा या काम गर्दा पूरा शरीर छोप्ने खालका कपडा लगाएर बस्न पनि सुझाव दिएको छ। राति सुत्दा झुलको अनिवार्य प्रयोग गर्न पनि अनुरोध गरेको छ। डेंगु रोगबाट धेरैजसो गर्भवती, बालबालिका र वृद्धवृद्धा प्रभावित हुने गरेका छन्।
डेंगु नियन्त्रणको लागि गाउँगाउँमा कार्यक्रम
चितवन जिरल्लामा डेंगुले महामारी नै फैलाउने स्थिति आएपछि भरतपुर महानगरपालिकाले आइतबारदेखि यसको ‘लार्भा खोज र नष्ट गर’ अभियान चलाउने भएको छ। तीनदिने कार्यक्रमअन्तर्गत महानगरपालिकाको वडा नं. १, २, ३, ४, १०, ११ र १२ मा कार्यक्रम गर्ने तयारी भइरहेको भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवनकुमार श्रेष्ठले बताए।
एक महिनाको तथ्यांक हेर्दा बढी प्रभावित देखिएका वडाहरूमा कार्यक्रम आयोजना गरेर जनचेतना जगाउने अभियान चलाउन लागेको उनको भनाइ छ। स्वास्थ्य कार्यालय चितवनसँगको सहकार्य र समन्वयमा कार्यक्रम आयोजना गर्न लागेको उनले बताए।

























