चितवन, ३१ साउन। चितवनमा रवि लामिछाने समर्थक सर्वसाधारण र प्रहरीबीच झडप भएको छ। जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशनमा उत्रिएका पत्रकार लामिछानेका समर्थक र प्रहरीबीच झडप हुँदा पाँच प्रहरी घाइते भएका छन्।
झडपलाई साम्य पार्न प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ। कार्यालयमै ढुङ्गामुडा गरेपछि अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सर्वसाधारणले जिल्ला प्रहरी कार्यालय अगाडि टेण्ट टाँगेर बस्ने प्रयास गरेपछि झडपको अवस्था सिर्जना भएको हो। सर्वसाधारणले रवि लामिछानेको पक्षमा दिनभर प्रर्दशन गरेका छन्।
प्रहरीले पत्रकार लामिछाने र युवराज कँडेलसहित रूकु भनिने अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतमा पेस गरेपछि पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नाम जोडिएपछि अनुसन्धानको लागि भन्दै पत्रकार रवि लामिछाने र युवराज कँडेलसहित अस्मिता कार्कीलाई बिहीबार काठमाडौँबाट पक्राउ गरी चितवन ल्याइएको हो।





















