चितवन, ३२ साउन। पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरूत्साहनको अभियोग लागेका पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई फसाएर पक्राउ गर्न लगाइएको रवि लामिछाने समर्थकहरूले बताउँदै आएका छन्। बिहीबार साँझ काठमाडौाबाट पक्राउ गरी मध्यरातमा चितवन ल्याइपुर्याएका तीनैजनालाई शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरिएको थियो।
अदालतले चितवन प्रहरीलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाउन अनुमति दिएपछि रवि समर्थह सर्वसाधारण बिना सर्त रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय, चितवन जिल्ला अदालत र सरकारी वकिलको कार्यालय गेट अगाडि बसेर नाराबाजी गरेका थिए।
यही भीडबाट शनिबार नेपाल बन्द भन्ने हल्ला आयो। त्यसपछि सामाजिक सञ्जालमा पनि नेपाल बन्दको व्यापक प्रचार भयो। तर, अर्का थरी समर्थकले भने शनिबार नेपाल बन्द नभएको दाबी गरेका छन्। रवि लामिछानेका समर्थकका नामबाट आब्हान गरिएको चितवन बन्द अफबाह मात्रै भएको समर्थकहरुले बताएका छन्।
आफूलाई रवि लामिछाने समर्थक बताउने चितवनका अर्जुन भुषालले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर शनिबार बन्द आह्वान नगरेको बताएका छन्। ‘हामी बन्द विरोधी हौं, रवि लामिछानेको समर्थनमा बन्द होइन शान्तिपूर्ण आन्दोलन गर्छौँ।’ रवि लामिछानेलाई फसाउनको लागि कसैले अफवाह फैलाउने षड्यन्त्रमा लागेको हुन सक्ने बताए।
शुक्रबार साँझ रबि लामिछानेका समर्थक र प्रहरीबीच झडपको अवस्था नै सिर्जना भएको थियो। उक्त झडपमा परी पाँचजना प्रहरी घाइते भएका छन्।





















