रूपन्देही, ३१ साउन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बिहीबार राति बम विस्फोट भएको छ। सैनामैना नगरपालिका–७ स्थित ढकालको निवासमा ३ वटा बम विस्फोट गराइएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी भीमलाल भट्टराईका अनुसार ढकाल सुत्ने कोठा, उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर बम विष्फोट गराइएको आशंका गरिएको छ।
विस्फोटबाट ढकालले प्रयोग गर्दै आएको कारको पछाडिको भागमा सामान्य क्षति पुगेको छ। घरमा भने खासै क्षति पुग्न पाएको छैन। सचेतक ढकाल घरमा नभएको बेला बम विस्फोट गरिएको हो।
प्रमुख सचेतक ढकाल प्रदेशसभाको गाडी खरिद अनियमितता प्रकरणमा मुछिएका पात्र हुन्। बम विस्फोट कसले र किन गरायो भन्नेविषयमा थप अनुसन्धान भइरहेको डीएसपी भट्टराईले जानकारी दिए।