काठमाडौँ, ३० साउन। पत्रकार शालिकराम पुडासैनीको मृत्यु र त्यसपछिका घटनाक्रमले नेपाली सञ्चार क्षेत्रमात्र नभई सामाजिक सञ्जालमा समेत चहलपहल व्यापक बन्दै गएको छ। दस दिनसम्म घटनाको विषयमा बोल्न नसकेको प्रहरी बुधबार ‘नेपाल आज’मा भिडियो सार्वजनिक भएपछि बल्ल सक्रिय बन्यो।
भिडियो बुधबारै सार्वजनिक भयो, तर पत्रकार पुडासैनीद्वारा आरोपित न्युज २४ टेलिभिजनका ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछाने, सोही समूहका सदस्य युवराज कँडेल र रूकु भनिने ओखलढुङ्गाकी अस्मिता कार्कीलाई बिहीबार पक्राउ गरेको छ।
लामिछानेसहित आरोपित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएसँगै सामाजिक सञ्जालभर पक्ष विपक्षमा बहस भइरहेको छ। लामिछाने, कँडेल र कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएपछि मात्रै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पनि बिहीबार विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारवाही हुनुपर्ने माग गरिएको छ।
पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियो विभिन्न सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै महासंघले उक्त प्रकरणमा निष्पक्ष ढंगले छानविन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न सरकारसँग माग गर्दछ।’
विज्ञप्ति हेर्नुहोस्ः

पत्रकार पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि हत्याराको आरोप लगाएका छन्। बुधबार उक्त भिडियो बाहिरिएपछि बिहीबार प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर चितवन पठाएको छ। रवि लामिछाने पक्राउ परेपछि बिहीबार साँझ प्रसारण हुने ‘सिधाकुरा जनतासँग’ कार्यक्रम प्रशारण हुन सकेन।
पत्रकार लामिछाने र कँडेलले भने आफूहरूमाथि लगाइएको आरोपलाई प्रमाणि गरेर देखाउन सके आफू सञ्चार क्षेत्रबाटै बिदा लिने चेतावनी दिँदै आएका छन्। तर, प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएकाले प्रहरीलाई आफ्नो तर्फबाट सघाउने प्रतिवद्धता जनाएका छन्।


























