काठमाडौँ, ३० साउन। न्युज २४ बाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सिधाकुरा जनतासँग’का प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरूत्साहन गरेको आरोपमा प्रहरीले पत्रकार लामिछानेसहित सोही कार्यक्रममा कार्यरत युवराज कँडेल र रूकु भनिने अस्मिता कार्कीलाई बिहीबार पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले लामिछाने र कँडेललाई न्युज २४ को कार्यालयबाट र राजधानीको एक अस्पतालमा कार्यरत कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएर चितवन पठाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
पुडासैनीले मृत्युपूर्व रेकर्ड गरेको भिडियोको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताए। पुडासैनीले उक्त भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीले नै मर्न बाध्य बनाएको गम्भीर आरोप लगाएका थिए।
तर, रवि लामिछाने र युवराज कँडेलले पूर्व सहकर्मी शालिकराम पुडासैनीलाई मर्न आफूले बाध्य नबनाएको दाबी गर्दै आएका थिए। घटना भएको दस दिनपछि बुधबार उक्त भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासनको चौतर्फी आलोचना भएको थियो। सामाजिक सञ्जालमा समेत प्रहरी प्रशासनप्रति प्रश्न उठाइएको थियो। लामिछाने र कँडेललाई प्रहरीले पक्राउ गरेपछि बिहीबार प्रशारण हुने सिधा कुरा जनतासँग पनि अवरूद्ध भएको छ।
नुवाकोट बेलकोटगढी स्थायी घर भई हाल माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कंगारूको एउटा कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए।


























