काठमाडौँ, ३० साउन। बैंकिङ कसुरको मुद्धामा पक्राउ परेसँगै कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्तमा परेका छन्। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री खत्रीलाई बिहीबार बर्खास्त गर्ने निर्णय गरेका हुन्। संघीय संरचनामा गएपछि बर्खास्तीमा पर्ने खत्री पहिलो प्रदेश मन्त्री हुन्।
कृषि विकास बैंकले दायर गरेको बैंकिङ कसूरसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले मंगलबार प्रतिवादी बनाइएका खत्रीलाई ३ दिनभित्र अदालतमा पेश गर्न सरकारी वकिल कार्यालयमार्फत प्रहरीलाई आदेश दिएको थियो।
बिहीबार अदालतमा हाजिर भएका मन्त्री शाही अदालती प्रक्रिया पुरा नभएपछि प्रहरी हिरासतमा गएका छन्। मन्त्री बर्खास्तमा परेपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री शाहीले नै सम्हाल्नेछन्। मुद्दामा प्रतिवादी बनाइएका छविलाल ढकाल, रणधीर तुम्बा र देवलाल शाही पक्राउ परिसकेका छन् भने राजुप्रसाद श्रेष्ठ फरार छन्।
उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरे बैंकलाई हानी नोक्शानी पुर्याएको कृषि विकास बैंकको दाबी छ।