चितवन, ३० साउन। टेलिभिजन कार्यक्रम चलाएरै चर्चामा आएका पत्रकार रवि लामिछाने फेरि एकाएक चर्चामा आएका छन्। पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भनिएको भिडियो सार्वजनिक भएपछि रवि लामिछाने पुनः चर्चामा आएका हुन्। भिडियोमा पुडासैनीले आफ्ना दुईजना पूर्वसहकर्मी र एक युवतीकै कारण आत्महत्या गर्न बाध्य भएको गम्भीर आरोप लगाएका छन्।
साउन २० गते चितवनको नारायणगढस्थित होटल कंगारुमा भएको घटनाबारे चितवन प्रहरीले भने अनुसन्धान जारी छ भन्दै घटनालाई गुपचुप राख्ने प्रयास गर्यो। तर, बुधबार अनलाइन पत्रिका ‘नेपाल आज’ले पत्रकार पुडासैनीले रुँदै खिचेको भिडियो सार्वजनिक गरेपछि चितवन प्रहरी प्रशासनप्रति पनि प्रश्न चिन्ह उठेको छ। पुडासैनीले रेकर्ड गरेको अडियो भिडियो बाहिरिएको कुरा घटना भएकै दिन राति जानकारीमा आएको थियो। तर, प्रहरीले विज्ञप्ति नै निकालेर उक्त समाचारको खन्डन गरेपछि सेलाएको यो काण्डले फेरि सञ्चारमाध्यम र सामाजिक सञ्चाल तातिएका छन्।
यही विषयलाई लिएर पत्रकारदेखि सर्वसाधारणसम्म दुईभागमा विभाजन भएको देखिन्छ। आधिकारिक धारणा प्रहरी अनुसन्धानपछि खुल्ने नै छ, तर सामाजिक सञ्जालमा भने एकअर्काको आरोप प्रत्यारोपसँगै घटनाबारे आफैँ अनुसन्धाता भएर बोलिरहेका छन्। पुडासैनीले भिडियोमा आफू मर्नुको मुख्य कारण भनेकै रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की भएको खुलासा गरेका छन्।
तर, रवि लामिछाने र युवराज कँडेलले भने पुडासैनीले आफूहरूमाथि गलत आरोप लगाएको बताएका छन्। रवि लामिछानेले फेसबुकमार्फत भनेका छन्, ‘ममाथि लगाएका यी आरोप सुन्दा शालिकरामलाई ठूलो भ्रम परेजस्तो छ। आरोप लगाउने मरेर गए पनि आरोप खेप्ने म जिउँदै छु। मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस् र हदैसम्मको सजाय होस्।’
यस्तै युवराज कँडेलले पनि आफूमाथि पुडासैनीले झुठा आरोप लगाएको बताएका छन्। भिडियोमा पुढासैनीले अस्मिता कार्कीसँगको सम्बन्धलाई लिएर आत्महत्या गराउन बाध्य गराएको भन्ने आरोप लगाएका छन्। तर, यसबारे युवराज कँडेलले भनेका छन्, ‘मेरी आमाको कसम खाएर भन्छु, शालिकले भनेकी युवतीलाई न मैले अहिलेसम्म चिनेको छु, न देखेको छु, न भेटेको छु, न शालिकसँग जोडिदिएको छु, अनि अस्ट्रेलिया पठाइदिनेलगायतका यी यावत आरोपहरूमा एउटा पनि गल्ती मबाट भएको रहेछ भने यो देशमा कानुन छ अनि सबैकुरा देख्ने ईश्वर छ म मर्न तयार छु, सबै कुरा छानबिन होस् हामीले कुनै अपराध गरेका छैनौँ।’
तर, चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल भने घटनाको अनुसन्धान जारी रहेको बताउँछन्। मृतकको साथबाट बरामद मोबाइलसहितका सामग्रीको डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट बिहीबार आएपछि मात्रै बाँकी काममा अघि बढ्ने उनको भनाइ छ। अहिलेसम्म किटानी जाहेरी नपरेको उनले बताए। मृतकको मोबाइलमा रहेको भिडियो सार्वजनिक भएकोबारे आफूलाई थाहा नभएको उनले बताए।
यदि पुडासैनीले नाम लिएका व्यक्ति दोषी भएको प्रमाणित भएमा मुलुकी अपराध संहिता २०७४ को दफा १८५ अनुसार आत्महत्याका लागि दुरूत्साहन दिई आत्महत्या गराउने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रूपैयाँसम्म जरिवाना गर्न सकिने कानुनी व्यवस्था छ।