इस्लामावाद, २० साउन। विवादित जम्मु र काश्मिर प्रदेशलाई छुट्याएर नयाँ प्रदेश बनाउने गरी भारतले संविधानको धारा ३७० खारेज गरेकोमा पाकिस्तानले आपत्ति जनाएको छ। धारा खारेज गर्ने राष्ट्रपति रामनाथ कोविन्दको आदेशपछि जम्मु र काश्मिरलाई दिइएको स्वायत्तता पनि खोसिएको भन्दै पाकिस्तानले असहमति राखेको हो।
धारा ३७० मा मुस्लिम बाहुल्यता रहेको जम्मु काश्मिरलाई विशेष स्वायत्तता दिने व्यवस्था थियो। पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुरेशीले भारतको यस कदमका बारेमा आफुहरूले छिट्टै नै पाकिस्तान भ्रमणमा आउने संयुक्त राष्ट्रसंघीय प्रतिनिधिहरुसँग छलफल गर्ने बताए।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् भारतीय पक्षको निर्णयको भर्त्सनाका साथै यस कदमलाई ‘अस्वीकृत गर्छ’ भनेका छन्। कुरेशीले काश्मिरबारे पाकिस्तानी प्रतिवद्धतालाई दोहोर्याउँदै भने, ‘पाकिस्तानले जम्मु–काश्मिरका जनताका लागि आफ्नो राजनीतिक, कुटनीतिक र नैतिक समर्थन दिइरहने छ।’
यो धारा खारेज भएसँगै जम्मु काश्मिर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश भएको छ। यसबाट छुट्टिएर लद्दाख पनि केन्द्र शासित छुट्टै राज्य भएको छ। सन् १९४७ मा भारत र पाकिस्तान स्वतन्त्र भएदेखि नै सिंगो काश्मिर क्षेत्र विभाजित भएको थियो। काश्मिरको केही भू–भाग भारतमा र केही भू–भाग पाकिस्तानमा छ।
अलग्ग काश्मिर मुलुक बनाउने भन्दै काश्मिरमा लामो समयदेखि स्वतन्त्रता आन्दोलन चलिरहेको छ भने भारत र पाकिस्तानबीच चार पटक युद्व भएको छ। –रासस÷एएनआई