धनुषा, २० साउन। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आवश्यकताका आधारमा विकास हुनुपर्ने बताएका छन्। प्रदेश नं २ मा सूचना प्रविधिमैत्री विद्यालयको रूपमा विकास गरिएको जनकपुरस्थित सङ्कट मोचन देवशरण रामरती माविको समुद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, ‘प्रविधियुक्त समाजले मात्रै प्रगति गर्ने भएको हुँदा यसतर्फ सबैको ध्यान जानुपर्छ। त्यसैले विकास जनसंख्यालाई हेरेर होइन, आवश्यकतालाई हेरेर हुनुपर्छ।’
एक अर्कामाथि आरोप लगाएर जनताको आवश्यकता पूरा नहुनेसमेत उनले बताए। विकासमा हुने गरेको राजनीतिको कारणले पूर्वपश्चिम राजमार्गभन्दा दक्षिणतिरको विकासमा कमी आएको उनको भनाइ छ। ‘विगतमा कुन सरकारले के गरे या गरेनन् भन्नुभन्दा पनि गणतन्त्र जनताको व्यवस्था भएकाले सोही अनुसार सबैले काम गर्नुपर्छ।’