काठमाडौँ, १२ साउन। मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन्। बाढीपहिरो र डुबानमा परी आजसम्म ११७ जनाले ज्यान गुमाएका छन्।
दुई दिनयता चार जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए। यस अवधिमा ४१४ विपदका घटना भएका छन्। विपदमा परी ८० जना घाइते भएका थिए। अधिकांश घाइते उपचारपछि घर फर्किएका छन्। केन्द्रले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार बाढीको १३४, पहिरोको २२७ र भारी वर्षाको कारण ५३ घट्ना भएका छन्।
बाढीबाट ६१, पहिरोबाट ४७ र भारी वर्षाका कारण नौ जनाले ज्यान गुमाएका छन्। बाढीबाट २९ र पहिरोबाट नौ जना हराइरहेको खनालले बताए। बाढी र डुबानबाट सबैभन्दा बढी रौतहटमा १० जनाको मृत्यु भएको छ। पहिरोबाट सबैभन्दा बढी गुल्मीमा १४ जनाको ज्यान गएको छ। डोल्पामा सात जना हराइरहेका छन्। गत असारको २६ देखि ३० गतेसम्म तथा साउनको ७ र ८ गते बाढी, पहिरो र डुबानका घट्ना भएका थिए।
विपदबाट ९० हजारभन्दा बढी परिवार प्रभावित भएका थिए भने २२ हजार ६७० परिवार विस्थापित भएको केन्द्रले जनाएको छ। खनालका अनुसार विभिन्न ठाउँमा राहत वितरणसँगै सडक र तटबन्ध भत्किएको क्षेत्रमा पुनःनिर्माणको काम जारी छ।