काठमाडौँ, १२ साउन। मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको नाममा विभिन्न देश पुगेका २५१ जनाको उद्धार गरेको छ।भारत, किर्किस्थान, कुवेत, लिबिया, केन्यालगायत देशबाट उद्धार गरिएको ब्यूरोले जनाएको छ। उद्धार गरिएकामा धेरै महिला छन्। गएको फागुनदेखि असारसम्ममा उनीहरुको यसरी उद्धार गरिएको हो।
वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन तथा अवैध ओसारपसारका घटना बढ्दै गएकाले प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना गरेर काम गर्दै आएको छ।
ब्यूरो स्थापनापछि अहिलेसम्म ११ घटनामा मुद्दा दर्ता गरिएको ब्यूरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। आरोपीमध्ये १२ जना पक्राउ परेका छन्। अझै २९ जना फरार रहेकाले खोजी जारी रहेको उनले बताए। भारतबाट मात्रै झण्डै २०० जनाको उद्धार गरिएको छ। पहिले भारतमा देह व्यापारका लागि मानव बेचबिखन हुने गरेको थियो।
अहिले भने वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन हुँदै आएको छ। अवैध बाटो हुँदै मानिसलाई बेचबिखन गर्ने गरेको प्रहरीले जनाएको छ। कानूनमा यसरी बेचबिखन गर्नेलाई १५ वर्षसम्म सजाया हुने व्यवस्था छ। –रासस