नारायण ढुंगाना,
काठमाडौँ, ११ साउन। असार अन्तिम साता सक्रिय भएको मनसुनका कारण आएको लगातार वर्षा भएपछिको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा करिब एक अर्ब बढीको क्षति पुर्याएको छ।
बाढीपहिरो र डुबानले ६७ जिल्ला प्रभावित भएको थियो। अहिलेसम्म ३६ जिल्लाबाट प्राप्त विवरणअनुसार एक अर्ब छ करोड ४५ लाखको क्षति भएको गृह मन्त्रालयले जनाएको छ। विपदबाट झण्डै ९० हजार घर प्रभावित भएका छन्।
मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले प्रारम्भिक अनुमानमा एक अर्ब बढीको क्षति भएको जानकारी दिँदै जिल्लामा विवरण सङ्कलन कार्य अझै पनि जारी रहेको बताए। बाढीबाट सबैभन्दा बढी एक अर्ब दुई करोडको क्षति भएको छ। पहिरोबाट दुई करोड ८८ लाख तथा भारी वर्षाका कारण ८० लाखको क्षति भएको जनाइएको छ। यस्तै साउन ७ र ८ गते लमजुङ र गुल्मीमा बाढी र पहिरोमा ठूलो जनधनको क्षति भएको छ।

९० हजार घर प्रभावित
विपद्का कारण झण्डै ९० हजार घरधुरी प्रभावित भएको छ। विपद्बाट २२ हजार ६७० घरधुरी विस्थापित भएको, १९ हजार ९७४ घर पूर्ण क्षति र ४१ हजार ३४३ घर आंशिक क्षति भएको तथा छ हजार बढी घरमा सामान्य क्षति भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।
अहिले विभिन्न क्षेत्रमा राहत वितरण कार्य जारी रहेको केन्द्रका प्रमुख खनालले जानकारी दिए। उनले राजमार्गमा भएको क्षतिको पुनःनिर्माणको कामसमेत जारी रहेको जानकारी दिए। राहत र उद्धारको कार्यलाई प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी सञ्चार र समन्वयका साथ स्रोत र साधनलाई परिचालन गरिएको सरकारले जनाएको छ।
मृतक परिवारलाई प्रतिमृतक रु एक लाखका दरले राहत वितरण कार्य शुरु गरिएको छ। प्रदेश सरकारले हरेक जिल्लालाई तत्कालीन राहतका लागि रु १० लाखका दरले राहत उपलब्ध गराएको छ। अहिले प्रदेश र स्थानीय तहको समन्वयमा एकद्वार प्रणालीमार्फत राहत वितरण कार्यलाई तीव्रता दिएको जनाइएको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसमेतबाट ४१ हजार बढी जनशक्ति परिचालन भएर उद्धार कार्य सञ्चालन गरेको थियो। स्थलमार्गबाट राहत वितरण गर्न नसकिएको क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत राहत वितरण कार्य जारी छ। अहिले भने मौसम कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मृत्यु हुने ११३ पुगे
गृहमन्त्रालयका अनुसार विपद्मा परेर अहिलेसम्म ११३ जनाको मृत्यु भएको छ। यस्तै ३८ जना बेपत्ता भएका र ६७ जना घाइते भएका छन्। असारको २६ देखि ३० गतेसम्म अविरल वर्षासँगै बाढीपहिरो र डुबान भएको थियो। साउनको ६ र ८ गते पनि पहिरो र बाढीले विभिन्न क्षेत्रमा क्षति पुर्याएको थियो।
प्रभावित जिल्लाबाट तीन हजार ६०० भन्दाबढीको उद्धार गरिएको छ। गुल्मीमा गएको पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका छन्। रौतहटमा मात्रै बाढी पहिरोमा परेर १० जनाले ज्यान गुमाएका थिए। विस्थापितलाई सुरक्षित स्थानमा राखिएको सरकारले जनाएको छ। –रासस