रसुवा, ११ साउन। रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ तातोपानी डाँडामा गुड्दै गरेको टाटा सुमोलाई पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। दुर्घटनामा परी सोलखुम्बुका करिब ४७ वर्षिय वाङ्छु शेर्पा र ४० वर्षिय दावा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ।
रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालका अनुसार सोलखुम्बुु घर भएका ४० वर्षिय ठाङ शेर्पा र ५० वर्षिय नवाङ शेर्पाको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरूमा सोलुखुम्बु जिल्ला घर भएका ३२ वर्षिय तेञ्जिन छिरिङ दोर्जे शेर्पा, ४४ वर्षिय भला काजी शेर्पा, ५४ वर्षिय फुरी शेर्पा, ६५ वर्षिय दोर्जे शेर्पा र ५८ वर्षिय तेन्डी शेर्पाको अवस्था सामान्य रहेको उनले बताए।
घाइतेहरुको टिमुरेस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। उनीहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लैजाने तयारी भए पनि मौसमको खराबीका कारण समस्या भएको प्रहरीले जनाएको छ। मृतक तथा घाइते कैलाश मानसरोवर गएर फर्किएका व्यक्तिहरु रहेको प्रहरीले जनाएको छ।
शनिबार साँझ सवा ५ बजे रसुवागढीबाट काठमाडौं जान लागेको ना १ ज ७८२४ नम्बरको टाटा सुमोको पछाडिको भागमा पहिरो खस्दा घटना भएको हो। उक्त गाडीमा चालकसहित १० जना सवार थिए।