झापा, ११ साउन। झापाको विर्तामोडस्थित एक व्यापारिक भवनमा आगलागी हुँदा दुई करोड रूपैयाँ बराबरको क्षति भएको छ। बिर्तामोडको हनुमान सेन्ट्रलमा शनिबार आज साँझ करिब ७ बजेतिर आग लागी भएको थियो। तर, समयमै नियन्त्रणमा लिन नसक्दा ठूलो क्षति भएको स्थानीयले बताएका छन्।
कबिर डेढ घण्टापछि ८ः३० बजे मात्रै विर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाबाट आएको दमकलको सहायताले आगो नियन्त्रणमा लिन सफल भएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए। छ तलाको व्यापारिक भवन भएकोले पनि आगो नियन्त्रणमा लिन समय लागेको उनले बताए। नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले बताए।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं नायब प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार आगलागीबाट मानवीय क्षति हुनबाट भने जोगिएको छ। पहिलो तलामा रहेको एरिक जुत्ता पसलको एसी मेसिनमा विद्युत् सर्ट भएर आगलागी भएको उनले बताए। बिर्तामोडको मुक्तिचोकमा रहेको छ तले उक्त व्यापारिक भवनमा विराट एफएमको स्टेसन, लक्ष्मी र इन्भेस्टमेन्ट गरी दुई वटा बैंक, दुई वटा डिपार्टमेन्टल स्टोरसहित व्यापारिक पसल र होटल रहेका छन्।
आगलागीबाट एरिक जुत्ता पसलमा मात्र क्षति पुगेको र अरु सबै पसल सुरक्षित रहेको प्रहरीले जनाएको छ।