काठमाडौँ, ११ साउन। ३३ किलो सुनकाण्ड केही मत्थर भएको बेला गोरखाबाट बरामद गरिएको १६ किलो सुनले चर्चा कमाएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएको सुनकाण्डबारे दोषी पत्ता लगाए पनि सुन पत्ता लगाउन सकेन। तर, गोरखाको धार्चे गाउँपालिका–३ स्थित जङ्गलमा लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको १६ किलो सुनबारे राजश्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ।
सुनसहित पक्राउ परेका धार्चे गाउँपालिका–१ का ४० वर्षिय धनकमल गुरुङलाई प्रहरीले राजश्व अनुसन्धान विभागमा बुझाएको थियो । ‘शुक्रबार यहाँ आइपुगेसँगै अदालतबाट हामीले पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालेका छौँ, अनुसन्धान सकिएपछि अदालतमा मुद्दा दर्ता हुन्छ,’ विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, ‘तर, परीक्षणका क्रममा १६ किलो सुन भने सक्कली नै भएको पुष्टि भएको छ।’
गुरुङले अवैध सुन ओसारपसार गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको टोलीले बिहीबार गुरुङलाई नियन्त्रणमा लिएको थियो। सोधपुछ गर्दा निजले चीनको तिब्बतबाट उक्त परिमाणको सुन अवैधरूपमा चोरी निकासी गरी सोही गाउँपालिकास्थित जङ्गलमा लुकाइछिपाइ राखेको जानकारी दिएपछि प्रहरीले उक्त स्थानबाट १६ किलो सुन बरामद गरेको हो।


























