उत्तराखण्ड, (भारत) ११ साउन। भारतको उत्तराखण्डस्थित १३२ ओटा गाउँमा गएको तीन महिनामा एउटा पनि बालिका नजन्मिएको एक प्रतिवेदन सार्वजनिक भएको छ। प्रतिवेदन सार्वजनिक भएपछि अनुसन्धानको लागि सरकारलाई दबाव पुगेको बताइएको छ। नो गर्ल भिलेज अर्थात् बालिकाबिनाको गाउँ उत्तर काशीको हो, जहाँ ५५० गाउँ र पाँच ओटा शहरमा गरी चार लाख मानिसहरू बसोबास गर्दछन्।
भारतको एउटा सानो हिमाली राज्य भएकोले यहाँका धेरै इलाका पहाडी र दुर्गम क्षेत्रमा पर्छन्। सार्वजनिक भएको प्रतिवेदनको तथ्यांकले एउटा देशको भयानक लैङ्गिक अनुपातलाई देखाएको छ। अवैधानिक लिङ्ग छनोट, गर्भपतनको कारण यस्तो डरलाग्दो तथ्यांक सार्वजनिक भएको बताइएको छ।
प्रतिवेदनका अनुसार १३२ ओटा गाउँमा गएको अप्रिल र मे महिनाको अन्तरालमा २१६ जना बालक जन्मिँदा एक जना पनि बालिका जन्मिएका छैनन्। त्यस्तै १२९ ओटा अन्य गाउँमा यही महिनाको अन्तरमा १८० जना बालिका जन्मिँदा एक जना पनि बालकको जन्म नभएको तथ्यांकले देखाएको छ।
यसैगरी १६६ ओटा अन्य गाउँमा भने मिश्रित तथ्यांक सार्वजनिक भएको हो। ती गाउँमा तीन महिनाको अवधिमा ८८ जना बालिका र ७८ जना बालकको जन्म भएको तथ्यांकले देखाएको छ। समग्रमा उत्तरकाशीमा गएको अप्रिल र जुन महिनाको अवधिमा ९६१ जनाले जन्म लिएका छन्। जसमा ४७९ जना बालिका र ४६८ बालक रहेका छन्।
यो संख्या १ हजार जना पुरुषको तुलनामा १ हजार २४ जना महिला हुन्छ, जुन अनुपात राष्ट्रिय औसतभन्दा धेरै छ।
यो संख्या १ हजार जना पुरुषको तुलनामा १ हजार २४ जना महिला हुन्छ, जुन अनुपात राष्ट्रिय औसतभन्दा धेरै छ। भारतको महिला र पुरूषको राष्ट्रिय औसत ९३३ महिलाको तुलनामा १ हजार पुरूष छ। अधिकारीहरूले भने सञ्चारमाध्यमले स्वयंसेवी स्वास्थ्य तथ्यांक संकलनकर्ताहरूको सहयोगमा आफूखुशी समाचार प्रस्तुत गरेको बताएका छन्। झण्डै ६ सयजना स्वयंसेवकलाई ती क्षेत्रमा रहेका गर्भवती महिला, शिशुको जन्मका साथै खोप र परिवार नियोजनका कार्यक्रम सञ्चालन गर्ने जिम्मा दिइएको थियो।
‘मलाई लाग्छ सञ्चारमाध्यमहरूले छोरी नै नजन्मिएको समाचारलाई गलत ढंगले प्रस्तुत गरेका हुन्,’ उत्तराखण्ड जिल्लाका वरिष्ठ अधिकारी आशिष चौहानले भने, ‘हामीले यो विषयमा अनुसन्धान गर्न टिम बनाइसकेका छौँ।’ कुनै एक गाउँमा छोरा मात्रै र अर्काे गाउँमा छोरीको मात्रै संख्या पनि गणना गरिएको हुनसक्ने उनले आशंका गरे।
स्वास्थ्य अधिकारीहरूले एउटा सानो गाउँमा १०–१५ वटा घर भएको हुनसक्ने र ती गाउँमा एउटा मात्र लिङ्गका मात्रै शिशु भएको तथ्यांकले विशेष अर्थ नराख्ने बताएका छन्। ‘यदि केही गाउँमा बालिकाको जन्म नै नभएको भए त्यसले जिल्लाकै लैङ्गिक अनुपातमा प्रभाव पर्ने थियो,’ चौहानले भने।
स्थानीयले भने छोरा र छोरीमा विगतको इतिहास हेर्दा केही भिन्नता भएको र उचित लैङ्गिक अनुपातमा जोड दिने गरेको बताएका छन्। ‘बालक होस् या बालिका, हामी उनीहरू स्वस्थ र खुशी रहोस् भनेर प्रार्थना गर्छौँ’, स्थानीय महिला रोशनी रावतले भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सलाई भनेकी छन्।
यी गाउँमा महिलाहरु पुरूषले भन्दा धेरै काम गर्ने गर्दछन्। खेतमा काम गर्ने, घाँस काट्ने, गाई दुहुने, खाना पकाउने र घरका सबै काम महिलाले गर्ने गर्दछन्। पुरूषहरूमा बढी मदिराको लत छ।
यी गाउँमा महिलाहरु पुरूषले भन्दा धेरै काम गर्ने गर्दछन्। खेतमा काम गर्ने, घाँस काट्ने, गाई दुहुने, खाना पकाउने र घरका सबै काम महिलाले गर्ने गर्दछन्। पुरूषहरूमा बढी मदिराको लत छ। अधिकारीहरूले केही वर्षयता ती गाउँका महिलाहरूको भ्रुणहत्याको तथ्यांक नभएको बताएका छन्। –एजेन्सी