संखुवासभा, ११ साउन। केही दिनदेखि लगातार परेको वर्षाले पहिरो जाँदा संखुवासभाका विभिन्न ठाउँका दर्जनौँ घरमा क्षति पुर्याएको छ। बाढीपहिरोले मानवीय क्षति नभए पनि सर्वसाधारणको लाखौँ रूपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
पहिरोले खाँदबारी नगरपालिका–३, मानेभञ्जाङका ६ घर परिवारलाई विस्थापित गराएको छ। टेकबहादुर विश्वकर्मा, कमल तामाङ, कमल घिमिरे, मनबहादुर तामाङ, तिलबहादुर विश्वकर्मा र गंगाप्रसाद शाक्यको परिवारलाई पहिरोले विस्थापित गराएको हो। विस्थापित परिवार स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा आश्रय लिइरहेका छन्।

त्यसैगरी मानेभञ्जाङमा अन्य घरहरू पनि उच्च जोखिममा रहेकाले सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सुचना अधिकारी सन्तोष राईले जानकारी दिए। पहिरोले गर्दा मानेभञ्जाङ बजार नै उच्च जोखिममा परेको उनले बताए। मानेभञ्जाङ बजार क्षेत्रमा मात्रै ५० भन्दा बढी घर उच्च जोखिममा परेको उनको भनाइ छ।
त्यसैगरि चिचिला गाउँपालिका–१, सोभाङटोल बस्ने धनबहादुर राईको घर पहिरोका कारण बस्न नसक्ने अवस्थामा पुगेपछि छिमेकी भिमप्रसाद राईको घरमा आश्रय लिन बाध्य भएका छन्। अविरल वर्षाका कारण सिलिचुङ गाउँपालिका–१ मुस्तेनमा पहिरो जाँदा स्थानीय राजकुमार राईको एक रोपनी मकैबारी नै पुरिएको छ।

त्यसैगरी, खाँदबारी–४, सेकाहामा भीमबहादुर गुरूङको घर पनि पहिरोले बगाएको छ। भीमबहादुरको घरसँगै रहेका छिमेकी तेजबहादुर गुरूङ, गौरीमान गुरूङ र भुवनसिंं गुरूङको घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ। सदरमुकाम खाँदबारी–१ मा निमछिरिङ शेर्पा, डम्बर विश्वकर्मा, राम विश्वकर्मा, गणेश राई, रिदा भोटे र पुण्यप्रसाद पोख्रेलको घर पहिरोको उच्च जोखिममा परेका छन्।