नवलपुर, १० साउन। जिल्ला अदालत नवलपुरको एउटा गाडीमा गयराति अज्ञात समूहले आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुर जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडुले प्रयोग गर्दै आएको बा २ झ ३५०२ नम्बरको पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गराएका हुन्।
आगजनीबाट गाडीको अघिल्लो भाग र इन्जिन जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी अर्जुन रानाभाटले जानकारी दिए। उक्त गाडी भाडामा बस्दै आएका बडुले कावासोती ८ स्थित थकाली चोकस्थित अर्जुनकुमार श्रेष्ठको घरमा पार्किङ गरेर राखेका थिए।
राति सोही घरमा बस्दै आएका झपटबहादुर कुँवरलगायतले आगो बलिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। राति नै प्रहरी, स्थानीय र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको सूचना अधिकारी रानाभाटले जानकारी दिए।
विप्वल समूहले केही दिनअघि सरकारी गाडी चल्न नदिने चेतावनी दिएकाले घटनामा उसैको संलग्नता हुनसक्ने आशंका गरिएको छ। तर, घटनाको वास्तविकता नखुलेकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।