काठमाडौँ, ०६ असार। यसवर्ष विपद्बाट १९५ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायत एक हजार ५२५ घटनामा परि १९५ जनाको मृत्यु भएको हो।
तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेकाले यो संख्या अझै बढ्न सक्ने विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले जानकारी दिए। बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेक लागेर १३, जनावरको आक्रमणबाट नौ, हावाहुरीबाट आठ, भारी वर्षाबाट सात, सर्पदङ्शबाट छ, हवाई दुर्घटनाबाट तीन र अन्य कारणबाट तीन जनाको मृत्यु भएको उनको भनाइ छ।

विपद्को घटनामा परेर ३५ वेपत्ता र ४८८ जना घाइते भएका उनले बताए। बाढीबाट २४, पहिरोबाट नौ, डुङ्गा पल्टेर एक र हिउँपहिरोमा परी एक जना बेपत्ता भएका छन्। घाइते हुनेमा चट्याङबाट १६३, हावाहुरीमा १४९, बाढीबाट १०, पहिरो २९, आगलागीबाट ६८, जनावरबाट ३५, भारी वर्षाबाट १४ जना भएका मन्त्रालयले जनाएको छ। गृहमन्त्रालयका अनुसार ती घटनामा करिब दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६१९ रूपैयाँ बराबरको क्षति भएको छ।
सबैभन्दा बढी क्षति बाढीबाट भएको मन्त्रालयले जनाएको छ। एक अर्ब पाँच करोड पाँच लाख चार हजार रूपैयाँ बराबरको क्षति बाढीबाट भएको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख खनालले बताए। उनका अनुसार आगलागीबाट एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार, हावाहुरीबाट ६ करोड ५५ लाख ३३ हजार, पहिरोबाट एक करोड ७८ लाख तीन हजार, चट्याङबाट २६ लाख दुई हजार, भारी वर्षाबाट ८२ लाख २० हजार पाँच सय र जनावर आतङ्कबाट नौ लाख १९ हजार रूपैयाँ बराबरको क्षति भएको उनले बताए।

विपद्बाट १२ हजार ९९० घरपरिवार प्रभावित भएका छन्। सबैभन्दा बढी हावाहुरीबाट १० हजार ६९७ घरपरिवार प्रभावित भएका उनले बताए। यसैगरी आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिरोबाट १५८, लेक लागेर १८, जनावर आतङ्क ७५, भारी वर्षाबाट ५० र सर्पदङ्शबाट १० घरपरिवार प्रभावित भएका छन्। विपद्बाट एक हजार २६४ घर आङ्शिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ।
यसैगरी एक हजार १७८ पशु चौपया मरेका र ३८४ गोठमा क्षति पुगेको जनाएको छ। चट्याङबाट ४१८, बाढीबाट ५१, पहिरोबाट ९२, आगलागीबाट ५५८, जनवार आतङ्कबाट नौ, हावाहुरीबाट ३७, भारी वर्षाबाट सात, असिनाबाट छ वटा चौपया मरे। केही दिन अघि आएको अविरल वर्षाका कारण करीब ९० जनाको ज्यान गएको थियो। – रासस